नेपाली कांग्रेसले गर्‍यो प्रदेश समिति सदस्य विष्णु पोखरेललाई बर्खास्त

काठमाडौं । नेपाली कांग्रेस लुम्बिनी प्रदेश समितिले पार्टीका प्रदेश समिति सदस्य विष्णु पोखरेललाई पदबाट बर्खास्त गरेको छ । गत साउन ११ गते नै पोखरेललाई जिम्मेवारीबाट मुक्त गरिए पनि यो जानकारी हालै सार्वजनिक भएको हो । निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई हराउन भूमिका खेलेको आरोपमा उनलाई पदमुक्त गरिएको कांग्रेस लुम्बिनी प्रदेश समितिले जनाएको छ ।

प्रदेश सभापति अमरसिंह पुनका अनुसार, पोखरेलविरुद्ध पार्टी केन्द्रमा उजुरी परेको थियो। विशेषगरी, २०७९ को प्रतिनिधि सभा निर्वाचनमा रूपन्देही क्षेत्र नं ५ बाट उम्मेदवार बनेका भरतकुमार शाहलाई हराउन पोखरेलले भूमिका खेलेको भन्दै शाहले नै पार्टी केन्द्रमा उजुरी दिएका थिए। सभापति पुनले पार्टी केन्द्रको निर्देशनबमोजिम नै पोखरेललाई जिम्मेवारीबाट मुक्त गरिएको पुष्टि गरे।

‘उहाँविरुद्ध रूपन्देहीको निर्वाचन क्षेत्र नं ५ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवार बनेका भरतकुमार शाहले उजुरी गर्नुभएको थियो। त्यसै कारण पदमुक्त गर्न भनेको हुनुपर्छ,’ सभापति पुनले स्पष्ट पारे। २०७९ को निर्वाचनमा शाह नेकपा एमालेका उम्मेदवार वासुदेव घिमिरेसँग २७ हजार १२० मत प्राप्त गरी पराजित भएका थिए।

भरतकुमार शाहले आफूलाई पराजित गराउन पोखरेलको प्रत्यक्ष संलग्नता रहेको आरोप लगाउँदै आएका छन्। स्मरणीय छ, २०७४ को निर्वाचनमा पोखरेल सोही निर्वाचन क्षेत्रको प्रदेशसभा ‘क’ बाट प्रदेश सभा सदस्यका उम्मेदवार थिए। २०७९ मा पनि उनी सोही क्षेत्रबाट उम्मेदवारका आकांक्षी थिए, तर तत्कालीन सत्ता गठबन्धनको भागबन्डामा उक्त क्षेत्र नेकपा माओवादी केन्द्रको पोल्टामा परेपछि उम्मेदवार बन्नबाट वञ्चित भएका थिए।

यता, पदमुक्त गरिएका पोखरेलले भने आफूलाई यस विषयमा कुनै जानकारी नभएको बताएका छन्। उनले पार्टीबाट कुनै स्पष्टीकरणसमेत नसोधिएको दाबी गरे। ‘मलाई पार्टी विरोधी गतिविधि गरेको वा उम्मेदवारविरुद्ध लागेको भनेर स्पष्टीकरण पनि सोधिएको छैन। यस विषयमा सभापतिसँग सोध्छु,’ पोखरेलले भने।

तर, पार्टीले पोखरेललाई पठाएको पत्रमा भने नेपाली कांग्रेसको विधान २०१७ को परिच्छेद ४, धारा १३ को उपधारा १० (झ) बमोजिम पदमुक्त गरिएको उल्लेख छ। पोखरेल रूपन्देहीमा नेपाल विद्यार्थी संघको राजनीतिबाट उदाएका एक युवा नेताका रूपमा चिनिन्छन्।

यस घटनाले नेपाली कांग्रेस लुम्बिनी प्रदेशभित्रको आन्तरिक कलह र गुटबन्दीलाई पुनः उजागर गरेको छ। पार्टीले आगामी दिनमा यस्ता विषयलाई कसरी सम्बोधन गर्छ भन्ने चासोका साथ हेरिएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री