काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र बनाउने र कारोबार गर्ने गिरोहमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का एक नेताको संलग्नता खुलेको छ । गिरोहमा संलग्न रहेको आरोपमा रूपन्देही प्रहरीले रास्वपाका बागमती प्रदेश प्रशिक्षण विभाग संयोजक हरिप्रसाद कँडेललाई पक्राउ गरेको छ । आफ्नो नामको अगाडि ‘डाक्टर’ लेख्दै आएका कँडेललाई बिहीबार चितवनबाट पक्राउ गरी थप अनुसन्धानका लागि रूपन्देही ल्याइएको हो ।
जिल्ला प्रहरी कार्यालय, रूपन्देहीका प्रमुख एसपी प्रदीप क्षेत्रीका अनुसार, गत साउन ३० गते रूपन्देहीको बेलहियास्थित एक होटलबाट ठूलो परिमाणमा नक्कली शैक्षिक सामग्रीसहित पक्राउ परेका भारतीय नागरिक अभिषेक यादवको बयानका आधारमा कँडेललाई पक्राउ गरिएको हो । यादवले आफू कँडेलका लागि काम गर्ने गरेको स्वीकार गरेपछि प्रहरीको अनुसन्धान चितवनतर्फ मोडिएको थियो ।
प्रहरीले साउन ३० गते भारत कानपुरका २५ वर्षीय अभिषेक यादवलाई बेलहिया बसपार्कस्थित होटल मुक्तिनाथ परिसरबाट पक्राउ गरेको थियो । उनको साथबाट बरामद भएका सामग्रीले प्रहरीलाई समेत चकित बनाएको थियो । यादवको साथबाट त्रिभुवन विश्वविद्यालयका १०० वटा ट्रान्सक्रिप्ट, ३६ वटा खाली प्रमाणपत्र, ४,०४० थान होलोग्राम, उच्च माध्यमिक शिक्षा परिषद् तथा राष्ट्रिय परीक्षा बोर्डका हजारौँ थान नक्कली होलोग्राम र स्टिकरहरू बरामद भएका थिए ।
यसका अतिरिक्त भारतका प्रतिष्ठित विश्वविद्यालयहरू जस्तै एमिटी विश्वविद्यालय, जवाहरलाल नेहरू टेक्निकल युनिभर्सिटी, छत्रपति साहूजी महाराज युनिभर्सिटी लगायतका दर्जनौँ नक्कली मार्क सिट, प्रोभिजनल सर्टिफिकेट, क्यारेक्टर सर्टिफिकेट र विश्वविद्यालयका नक्कली छाप तथा स्ट्याम्प प्याडहरू पनि बरामद गरिएको थियो ।
पक्राउ परेका कँडेल पूर्वशिक्षक हुन् र उनले चितवनको लायन्स चोकमा ‘कलेज कोच नेपाल प्रालि’ नामक शैक्षिक परामर्श केन्द्र सञ्चालन गर्दै आएका थिए । प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार, यही परामर्श केन्द्रको आवरणमा उनले नेपाल तथा भारतका विभिन्न विश्वविद्यालयका नक्कली प्रमाणपत्र बनाएर विद्यार्थी तथा कामदारहरूलाई विदेश पठाउने गरेको खुलेको छ ।
कँडेल यसअघि पनि नक्कली प्रमाणपत्र विवादमा मुछिएका व्यक्ति हुन् । चितवनको पदमपुरस्थित भिमोदय माविको प्रधानाध्यापक रहँदा उनको शैक्षिक योग्यतामाथि प्रश्न उठेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो ।




