घरजग्गा कारोबारमा मन्दीको सुरुवात: नयाँ आर्थिक वर्षको पहिलो महिनामै कारोबार र राजस्वमा भारी गिरावट

काठमाडौँ । चालु आर्थिक वर्षको सुरुवात घरजग्गा क्षेत्रका लागि सुखद रहन सकेन । नयाँ आर्थिक वर्षको पहिलो महिना, साउनमा घरजग्गा कारोबारमा उल्लेख्य गिरावट आएको छ, जसको प्रत्यक्ष असर सरकारी राजस्व संकलनमा परेको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत वर्षको सोही अवधिको तुलनामा कारोबार करिब २८ प्रतिशतले घटेको छ भने राजस्व संकलन १४ प्रतिशतले खुम्चिएको छ ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार यो वर्षको साउन महिनामा देशभर ३१ हजार ६२१ वटा मात्र घरजग्गा किनबेच (लिखत पास) भएका छन्। गत वर्षको साउनमा यो संख्या ४३ हजार ८३५ रहेको थियो। यसरी हेर्दा, अघिल्लो वर्षको तुलनामा १२ हजार २१४ वटा कम लिखत पास भएका छन्, जुन २७.८६ प्रतिशतको गिरावट हो।

कारोबारमा आएको यो कमीले राजस्व संकलनमा पनि नकारात्मक असर पारेको छ। विभागको तथ्याङ्कअनुसार चालु वर्षको साउनमा घरजग्गा कारोबारबाट ३ अर्ब २८ करोड ९१ लाख रुपैयाँ मात्र राजस्व संकलन भएको छ। गत वर्षको यही महिनामा सरकारले ३ अर्ब ८३ करोड ५० लाख रुपैयाँ राजस्व उठाएको थियो। यो तथ्याङ्कले राजस्व संकलनमा १४ प्रतिशतको गिरावट देखाउँछ।

अझ, असार महिनासँग तुलना गर्दा साउनको गिरावट झनै ठूलो देखिन्छ। असारमा ६ अर्ब ५५ करोड रुपैयाँभन्दा बढी राजस्व संकलन भएकोमा साउनमा यो रकम झन्डै आधाले घटेर ३ अर्ब २८ करोडमा सीमित हुन पुगेको छ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८२/८३ का लागि ल्याएको मौद्रिक नीतिले घरजग्गा बजारलाई केही राहत दिने अपेक्षा गरिएको थियो। मौद्रिक नीतिले पहिलो पटक घर खरिद गर्नेका लागि आवास कर्जाको सीमा २ करोडबाट बढाएर ३ करोड पुर्‍याएको थियो भने कर्जा प्रवाहको अनुपात (लोन-टु-भ्यालु रेसियो) पनि बढाएर सहजीकरण गरेको थियो। तर, मौद्रिक नीतिको सकारात्मक प्रभाव साउन महिनाको कारोबारमा भने देखिन सकेन र बजारले अपेक्षित गति लिन सकेन। यसले नयाँ आर्थिक वर्षको सुरुवातमै घरजग्गा बजारले चुनौतीको सामना गर्नुपरेको स्पष्ट संकेत गरेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री