काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथालाई ‘विश्वकै सबैभन्दा अग्लो फोहोर थुप्रो’ बन्नबाट जोगाउने उद्देश्यका साथ एक उदाहरणीय पहल सुरु भएको छ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले राउन्ड टेबल नेपालसँगको सहकार्यमा “प्रोजेक्ट केयर” अभियान अन्तर्गत सगरमाथा क्षेत्रबाट ५,००० किलोग्राम फोहोर सफलतापूर्वक संकलन गरेको छ ।
शुक्रबार कम्पनीको केन्द्रीय कार्यालय कमलादीमा आयोजित एक विशेष कार्यक्रममा, राउन्ड टेबल नेपालका अध्यक्ष प्रवेश अग्रवालले फोहोर संकलन सम्बन्धी प्रतिवेदन नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीलाई हस्तान्तरण गरे । कार्यक्रममा सगरमाथा प्रदूषण नियन्त्रण समिति (SPCC) र फोहोर व्यवस्थापनमा संलग्न संस्था खालिसीसीका प्रतिनिधिहरूको पनि उपस्थिति थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत पराजुलीले सगरमाथा नेपालको मात्र नभई विश्वकै साझा धरोहर भएकोले यसको संरक्षण गर्नु सबैको साझा दायित्व भएको बताए । उनले भने, “पहिलो चरणमा ५,००० किलो फोहोर संकलन गर्न सफल भएकोमा हामी गौरवान्वित छौँ र यसमा संलग्न सबैप्रति आभारी छौँ । आगामी दिनमा पनि सगरमाथाको सौन्दर्य र पवित्रता जोगाउन नेपाल लाइफ निरन्तर प्रतिबद्ध रहनेछ ।”
राउन्ड टेबल नेपालका अध्यक्ष अग्रवालले यो अभियानको सुरुवात मात्र भएको बताउँदै आगामी दिनमा २५ हजार किलोग्राम फोहोर संकलन गर्ने ambitious लक्ष्य राखिएको जानकारी दिए । उनका अनुसार, बढ्दो आरोहणसँगै सगरमाथामा फोहोरको मात्रा तीव्र गतिमा बढे पनि विगतका प्रयासहरू पर्याप्त प्रभावकारी हुन नसकेको अवस्थामा यो अभियानले उल्लेखनीय परिवर्तन ल्याउने विश्वास छ ।
यसरी गरिँदैछ फोहोर व्यवस्थापन
अभियान अन्तर्गत संकलित फोहोरलाई वैज्ञानिक तवरले व्यवस्थापन गरिएको छ । कुहिने फोहोरलाई आधार शिविरभन्दा तल ल्याएर व्यवस्थापन गरिएको छ भने नकुहिने फोहोरलाई ३०-३० किलोको झोलामा प्याक गरी काठमाडौं ल्याइएको छ । काठमाडौं ल्याइएको फोहोरलाई ‘खालिसीसी’ सँगको सहकार्यमा पुनः प्रयोग (रिसाइकलिङ) गरिने योजना छ ।
सगरमाथामा आरोहीहरूले छोडेका टेन्ट, खाली अक्सिजन सिलिन्डर, खाद्य प्याकेजिङ, पुराना पर्वतारोहण उपकरण र अन्य फोहोरका कारण यसको वातावरणीय स्वच्छतामा गम्भीर असर परिरहेको छ । यही चुनौतीलाई सामना गर्न र विश्वको सर्वोच्च शिखरको गरिमा बचाउन यो अभियानले महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।




