काठमाडौं । नेपाली कांग्रेस वाग्मती प्रदेश संसदीय दलमा नेतृत्व परिवर्तन भएसँगै प्रदेश सरकारमा समेत यसको प्रत्यक्ष असर देखिने भएको छ । नवनिर्वाचित संसदीय दलका नेता इन्द्र बानियाँले मुख्यमन्त्री बहादुरसिंह लामालाई पदबाट राजीनामा दिन आग्रह गर्दै मार्गप्रशस्त नगरे प्रक्रियामार्फत हटाउने चेतावनी दिएका छन् ।
नेपाली कांग्रेस वाग्मती प्रदेशको संसदीय दलको नेतामा निर्वाचित भएपछि पत्रकारहरूसँग कुरा गर्दै बानियाँले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धालाई स्वाभाविक प्रक्रियाको रूपमा व्याख्या गरे । लोकतन्त्रमा आन्तरिक तथा बाह्य संघर्षहरू स्वाभाविक भएको बताउँदै उनले पार्टीलाई जीवन्त र बलियो बनाउन नेतृत्व परिवर्तन आवश्यक परेको तर्क गरे । ‘दलको नेताले प्रभावकारी रूपमा कार्य सम्पादन गर्न नसक्दा पार्टी कमजोर हुने खतरा रहन्छ, त्यसैले समयमै नेतृत्व परिवर्तन हुनुपर्छ,’ उनले भने ।
मुख्यमन्त्री बहादुरसिंह लामातर्फ लक्षित गर्दै बानियाँले दलको नेताको हैसियतमा मुख्यमन्त्री बनेको तर अहिले त्यो हैसियत समाप्त भइसकेकाले पदमा रहिरहनुको औचित्य नभएको स्पष्ट पारे । ‘बहादुरसिंह लामाजी संसदीय दलको नेताको हैसियतले मुख्यमन्त्री बन्नुभएको हो,’ बानियाँले भने, ‘अहिले उहाँको त्यो हैसियत समाप्त भइसकेको छ, त्यसैले उहाँले नैतिकताको आधारमा मार्गप्रशस्त गर्नुपर्छ ।’
उनले मुख्यमन्त्री लामालाई पदबाट सहज बहिर्गमनका लागि आग्रह गर्दै अन्यथा लोकतान्त्रिक प्रक्रिया अपनाइने कडा संकेत दिए । ‘मार्गप्रशस्त गरेर परिस्थिति सहज बनाउनुहुन्छ भन्ने हाम्रो अपेक्षा छ,’ उनले थपे, ‘यदि त्यसो हुन सकेन भने हामी लोकतान्त्रिक अभ्यासअनुसार पद्धति र प्रक्रिया अपनाएर सहज रूपमा उहाँलाई बिदाइ गर्नेछौँ ।’
बानियाँको यस भनाइसँगै वाग्मती प्रदेश सरकारको भविष्य र मुख्यमन्त्री लामाको पद धरापमा परेको छ । कांग्रेसभित्रको आन्तरिक शक्ति संघर्षले प्रदेशको राजनीतिक समीकरणमा कस्तो मोड लिन्छ भन्ने विषय अब चासोको केन्द्रमा रहनेछ ।




