गृहमन्त्री लेखकको पहिलो वर्ष: लागूऔषधविरुद्धको महाअभियान सफल, ८ हजार पक्राउ

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले नेतृत्व सम्हालेको पहिलो वर्षमै लागूऔषध नियन्त्रणमा राज्यले उल्लेख्य सफलता हासिल गरेको छ। लागूऔषधको कारोबार, सडक दुर्घटना, आत्महत्या र साइबर अपराधलाई प्रमुख चार चुनौतीका रूपमा पहिचान गर्दै गृहमन्त्री लेखकले थालनी गरेको ‘लागूऔषध विरुद्धको महाअभियान’ले ठोस परिणाम देखाएको छ। गएको एक वर्षमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले कीर्तिमानी संख्यामा अभियुक्तहरू पक्राउ गर्नुका साथै ठूलो परिमाणमा लागूऔषध बरामद गरेको छ ।

आर्थिक वर्ष २०८१/८२ मा नेपाल प्रहरीले मात्रै लागूऔषधको मुद्दामा ७,९४३ जनालाई पक्राउ गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १,२०१ जनाले बढी हो। अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा यो संख्या ६,७४२ थियो। गृहमन्त्री लेखकले अभियानको सफलताका लागि सुरक्षाकर्मी मात्र नभई आम नागरिक र अभिभावकको सक्रिय सहभागितामा जोड दिँदै आएका छन्।

एक वर्षको आँकडा: पक्राउ र बरामदगीमा कीर्तिमान

प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कृष्णप्रसाद कोइरालाका अनुसार, गत आर्थिक वर्षमा पक्राउ परेकाहरूमा ७,१९७ पुरुष, ४२१ महिला, ३०७ भारतीय नागरिक र १८ अन्य देशका नागरिक छन्। यो अवधिमा देशभर ५,११० वटा लागूऔषधसम्बन्धी मुद्दा दर्ता भएका छन्।

बरामद गरिएको लागूऔषधको परिमाण पनि उत्तिकै उल्लेखनीय छ:

  • कोकिन: २० किलो ९२८ ग्राम (अघिल्लो वर्षभन्दा ७ किलो बढी)

  • अफिम: १८५ किलो ५८ ग्राम

  • खैरो हेरोइन: ४८ किलो ४६५ ग्राम

  • चरेश: ८२९ किलोग्राम

  • गाँजा: ५१ किलो ४३९ ग्राम

  • एम्पुल: २,२०,४१० थान

  • नाइट्राजेपाम: ९३,४२४ ट्याब्लेट

  • कोडिन सिरप (कोरेक्स): ८,९४० बोतल

बढ्दो सक्रियता र अपराध नियन्त्रणमा यसको प्रभाव

पछिल्ला तीन वर्षको तथ्याङ्कले लागूऔषध विरुद्धको कारबाहीमा निरन्तर वृद्धि भएको देखाउँछ। आर्थिक वर्ष २०७९/८० मा ६,१८-६ जना र २०८०/८१ मा ६,७४२ जना पक्राउ परेकोमा गत वर्ष यो संख्या लगभग ८ हजार पुगेको छ।

यो सफलताको पछाडि प्रहरीको विशेष ब्युरोको बढ्दो सक्रियता पनि प्रमुख कारण देखिन्छ। ब्युरोले मात्रै गत आर्थिक वर्षमा १,६७५ जनाविरुद्ध मुद्दा चलाएको छ, जुन अघिल्लो वर्ष १,१९३ र त्यसअघिको वर्ष ९३७ मात्र थियो। ब्युरोका अनुसार, सवारी दुर्घटना, आत्महत्या र अन्य गम्भीर अपराधका घटनाहरूमा पनि लागूऔषध प्रयोग एक प्रमुख कारकका रूपमा देखिएको छ। नेपालभित्र खैरो हेरोइन, एम्पुल, नाइट्राजेपाम जस्ता औषधिको दुरुपयोग बढ्दो छ भने कोकिन, अफिम र चरेशजस्ता लागूऔषध नेपाललाई ‘ट्रान्जिट’ बनाएर भारततर्फ तस्करी हुने गरेको छ।

सीमामा सशस्त्र प्रहरीको ‘नशा रहित’ अभियान

नेपाल प्रहरीसँगै सशस्त्र प्रहरी बलले पनि सीमा क्षेत्रमा लागूऔषध नियन्त्रणमा आफ्नो सक्रियता बढाएको छ। “नशा रहित युवा–हाम्रो देशका कर्णधार, सिमानाको रक्षा–राष्ट्र निर्माणको आधार” भन्ने नाराका साथ सशस्त्र प्रहरीले चलाएको अभियानअन्तर्गत बितेको एक वर्षमा ४६० जना कारोबारी पक्राउ परेका छन्। सशस्त्र प्रहरी बलका प्रवक्ता, सशस्त्र प्रहरी नायव महानिरीक्षक कालिदास धौवजीले सीमा नाकाहरूबाट ठूलो मात्रामा लागूऔषध बरामद गरिएको जानकारी दिए।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री