काठमाडौं । बलात्कारको गम्भीर अभियोग लागेका मधेस प्रदेशका पूर्वप्रमुख राजेश अहिराज (झा) पुर्पक्षका लागि कारागार चलान भएका छन् । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश पिताम्बर शर्माको इजलासले बुधबार उनलाई थुनामा राखेर मुद्दाको अनुसन्धान अघि बढाउन आदेश दिएको हो ।
उनीमाथि बानेश्वरस्थित एक युवतीको कोठामा गएर उनको इच्छाविपरीत पटक-पटक जबरजस्ती करणी गरेको संगीन आरोप छ । अदालतको आदेशसँगै उनलाई केन्द्रीय कारागार, सुन्धारा पठाइएको छ ।
यो प्रकरणमा प्रहरीको प्रारम्भिक अनुसन्धान प्रक्रियामाथि समेत प्रश्न उठेको थियो । पीडित युवतीले गत जेठ ४ गते घटना भएलगत्तै उजुरी दिन जाँदा प्रहरी परिसर, काठमाडौंले जाहेरी लिन नमानेको आरोप छ । पछि, उनी जिल्ला सरकारी वकिलको कार्यालय गुहार्न पुगेकी थिइन् । सरकारी वकिलको कार्यालयले कात्तिक ३० गते दिएको आदेशपछि मात्र प्रहरीले गत माघ ३ गते जाहेरी दर्ता गरी अनुसन्धान प्रक्रिया अघि बढाएको थियो ।
जाहेरी दर्ता भएपछि पनि अहिराज फरार थिए। प्रहरीले गत चैत २५ गते अदालतबाट पक्राउ पुर्जी लिएको थियो, तर उनी पक्राउ परेका थिएनन् । लामो समयदेखि फरार रहेका उनी भारतमा लुकेर बसेको प्रहरी स्रोतको दाबी छ । अन्ततः प्रहरीले उनलाई यही साउन ४ गते पक्राउ गर्न सफल भएको थियो ।




