काठमाडौं । नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक फोनपेले एशियाली भुक्तानी नेटवर्क (एपीएन) को २१औं फोरम नेपालमा आयोजना गर्दै देशलाई डिजिटल भुक्तानी नवप्रवर्तनको क्षेत्रीय केन्द्रतर्फ अघि बढाएको छ। वैशाख २४ गते हिल्टन काठमाडौं होटलमा सुरु भएको दुई दिने फोरममा एशियाका १४ सदस्य राष्ट्रहरूबाट प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
सोमबार सुरु भएको सम्मेलनको पहिलो दिन एपीएनको वार्षिक साधारणसभा सम्पन्न भयो। सो सभामा सदस्य राष्ट्रहरूले एपीएन चार्टर अद्यावधिक गर्नुका साथै सीमापार कार्ड तथा नन(कार्ड भुक्तानी पहलहरूको प्रगतिबारे छलफल गरेका थिए। नेतृत्व परिवर्तन अन्तर्गत, फिलिपिन्सको BancNe नयाँ अध्यक्ष चुनिनुका साथै फोनपे नेपालबाट उपाध्यक्षमा चयन भएको छ। यस्तै, नेपालकै फोनपे प्राविधिक उप-समितिको अध्यक्षमा पनि चयन भएको छ।
फोरमको औपचारिक सुरुआत एपीएन प्रतिनिधिहरू र प्रधानमन्त्री केपी शर्मा ओलीबीच प्रधानमन्त्रीको कार्यालयमा आयोजित विशेष भेटघाटबाट भएको थियो। सरकारको यो उच्चस्तरीय सहभागिताले डिजिटल भुक्तानी क्षेत्रमा क्षेत्रीय सहकार्यप्रति नेपालको प्रतिबद्धता झल्काएको थियो।
कार्यक्रमको दोस्रो दिन ओपन डे सत्रहरू सञ्चालन गरिए, जसमा फ्रड जोखिम व्यवस्थापन, सिकाइका पाठहरू, र सीमापार भुक्तानी एकीकरणसम्बन्धी विषयमा प्यानल छलफल भयो। ती सत्रहरूमा फोनपेले सुरक्षित तथा मापनीय भुक्तानी इकोसिस्टम विकासमा क्षेत्रीय सहकार्य, नियामक समन्वय र प्रविधिको भूमिकालाई जोड दिँदै आफ्ना अनुभव साझा गरेको थियो।




