मैले सेबोनमाथि कमिसन मागेको आरोप लगाएको छैन, गलत प्रचार भयो : इप्पान अध्यक्ष कार्की

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) का अध्यक्ष गणेश कार्कीले धितोपत्र बोर्ड (सेबोन) माथि कमिसन मागेको आरोप आफूले नलगाएको स्पष्ट पारेका छन्।

हालै सम्पन्न हाइड्रोपावर व्यवसायीहरूको छलफलमा केही सहभागिहरूले आइपीओ अनुमति प्रक्रियामा कमिसन मागिएको गुनासो व्यक्त गरे पनि आफूले त्यस विषयमा कुनै आरोप नलगाएको उनले बताए।

“हिजोको छलफलमा केही व्यक्तिहरुले सेबोन अध्यक्षको नाम लिएर कमिसन मागिएको कुरा उठाएका थिए। तर म कहाँ त्यस्तो कुरा आएको छैन र मैले कसैलाई दोष पनि दिएको छैन,” कार्कीले स्पष्ट गरे।

केही सञ्चारमाध्यमले आफूलाई ‘कोट’ गरेर धितोपत्र बोर्डप्रति आरोप लगाएको जस्तो गरी समाचार लेखेकोप्रति असन्तुष्टि जनाउँदै उनले भने, “मैले कुनै सञ्चारमाध्यमसँग यसबारे कुराकानी गरेको छैन, तर मेरो भनाइलाई तोडमोड गरेर प्रस्तुत गरिएको छ।”

उनका अनुसार, इप्पानसँग आबद्ध हाइड्रोपावर कम्पनीहरू २४ महिनादेखि साधारण शेयर (आइपीओ) निष्काशनको अनुमति नपाएर प्रभावित छन्। “अनुमति प्रक्रिया लम्बिँदा कम्पनीहरूले बैंक ब्याजबापत करिब ४ अर्ब रुपैयाँ तिर्नुपरेको छ। अनुमति नआएमा थप एक अर्ब रुपैयाँको आर्थिक भार थपिने देखिएको छ,” उनले गुनासो गरे।

यस अवस्थाप्रति आपत्ति जनाउँदै इप्पानले धितोपत्र बोर्डविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा जाने निर्णय गरेको छ। कार्कीका अनुसार, बुधबार उक्त निर्णयबारे आयोगमा औपचारिक उजुरी दर्ता गरिनेछ।

छलफलमा उठेको कमिसन मागको आरोप व्यक्तिगत अनुभवको आधारमा रहेको बताइए पनि त्यसमा कसले माग गर्‍यो भन्ने विषय प्रष्ट नभएको इप्पान स्रोतको भनाइ छ।

ऊर्जा क्षेत्रको दीर्घकालीन विकासका लागि पारदर्शी, समयमै प्रक्रिया सम्पन्न हुने वातावरण आवश्यक रहेको भन्दै व्यवसायीहरूले नियामक निकायसँग विश्वासिलो र उत्तरदायी व्यवहारको अपेक्षा व्यक्त गरेका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप