काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताको लामो संघर्षले अन्त्य गरिसकेको राजतन्त्र अब कहिल्यै फर्केर नआउने दाबी गरेका छन् ।
राष्ट्रिय जनसांस्कृतिक महासङ्घ नेपालको नवौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले गणतन्त्रको युगमा प्रवेश गरिसकेपछि पनि केही समूह अझै रैती बन्ने सोचमा रहेको भन्दै ती प्रवृत्तिमाथि प्रहार गरे।
नेकपा (एमाले) अध्यक्षसमेत रहेका ओलीले भने, “गणतन्त्र स्थापित भइसक्दा पनि स्वतन्त्र हुन नचाहने र रैती नै हुन खोज्ने मुर्खहरूको समूह व्यवस्थाको विरोधमा सक्रिय छ। यिनीहरूले जे देखे पनि नकारात्मकता मात्र देख्छन्।”
प्रधानमन्त्री ओलीले यस्ता प्रतिगामी सोचको विरोधमा सांस्कृतिक रूपमा पनि सशक्त आवाज उठाउनुपर्ने आवश्यकता औंल्याउँदै कलाकार, साहित्यकार र सर्जकलाई सामाजिक रूपान्तरणमा योगदान दिन आह्वान गरे।
“राति चारवटा स्याल कराउँदा वनै थर्किए जस्तो लाग्छ, तर तिनले कराएर केही हुँदैन,” उनले भने, “अब कोही राजा हुने सपना देखे पनि त्यो केवल सपना नै रहनेछ।”
अभिनेत्री सुरक्षा पन्तको चलचित्रका विषयमा उठेको बहिष्कारको प्रसंग उल्लेख गर्दै प्रधानमन्त्री ओलीले राम्रा सिर्जना जनताले सधैं साथ दिने भएकाले कलात्मक अभिव्यक्तिको समर्थनमा रहनुपर्ने स्पष्ट पारे।
“देश र जनताको पक्षमा बनाइएका राम्रा फिल्म र नाटक हेर्ने दर्शकको कमी हुँदैन,” प्रधानमन्त्री ओलीले भने, “सृजनात्मक अभियानलाई अझ प्रभावशाली बनाउनुहोस्।”




