स्याङ्जा । उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले बोलेर होइन, काम गरेर मात्र जनताको विश्वास जित्न सकिने बताएका छन्।
वालिङ नगरपालिका र केदारनाथ मन्दिर महायज्ञ मूल समारोह समितिको सहआयोजनामा आयोजित **श्रीमद्भागवत सप्ताह तण्डुलाचल शृङ्गारिक आरती महायज्ञ**को उद्घाटन समारोहमा बोल्दै मन्त्री सिंहले अब काम नतिजामुखी हुनुपर्नेमा जोड दिए।
“अब केवल भाषणले हुँदैन,” उनले भने, “जनताको भरोसा हासिल गर्न ठोस काम देखिनु आवश्यक छ।”
सिंहले तीन तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक रहेको उल्लेख गर्दै, विकास निर्माणका कार्यमा स्थानीय, प्रादेशिक र संघीय सरकारका प्रतिनिधिहरूबीच एकता जरुरी रहेको बताए।
साथै, उनले आफू सरकारमा रहँदा बजेट निर्माणको प्रक्रियामा सक्रिय सहभागी भएको भन्दै, स्याङ्जा क्षेत्रको आवश्यकता र प्राथमिकताका आधारमा आगामी बजेटमा विकास निर्माणका कार्यक्रम समावेश गरिने प्रतिवद्धता जनाए।
कार्यक्रममा महायज्ञ आयोजक समितिका संयोजक दिलीपप्रताप खाँडले केदारनाथ मन्दिरको धार्मिक र ऐतिहासिक महत्त्व संरक्षण गर्दै शिवधामको रूपमा विकास गर्न महायज्ञ आयोजना गरिएको जानकारी दिए।




