लण्डन । सत्तारुढ नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइराला लण्डन आइपुगेका छन् । इन्डो प्यासिफिक हेर्ने बेलायती विदेश राज्यमन्त्री क्याथरिन वेष्ट र उद्योग वाणिज्य राज्यमन्त्री ग्यारेथ थोमसको निमन्त्रणामा कोइराला बेलायत आएका हुन् ।
बिहीबार राति १०ः३० बजे लण्डन हिथ्रो विमानस्थल टर्मिनल फोरमा उत्रिएका नेता कोइरालालाई बेलायतस्थित नेपाली कांग्रेसका कार्यकर्ता तथा शुभेच्छुकहरुले स्वागत गरेका छन् । विमानस्थलमा नेता कोइरालाले आफू एक सांसदको हैसियतमा बेलायत आएकाले यहाँ बेलायती सांसद र नेताहरुसँग भेटघाट गर्ने, बुझ्ने र केही सिक्ने बताएका छन् ।
उनले बेलायतको नेपाली समुदायलाई समेत आफ्नो देशको समृद्धिमा साथ दिन आग्रह गर्दै उनीहरु देशका राजदूत भएकाले बेलायत नेपाल सम्बन्ध बलियो बनाउन महत्वपूर्ण भूमिका खेल्न अनुरोध गरे । एक प्रसंगमा नेता कोइरालाले अहिले कांग्रेसको ‘कोर भ्यालू’ खस्किएको बताउँदै यसबारे सोच्नुपर्ने बेला आएको उल्लेख गरे ।
कोइरालाले आउँदो १३ जनवरी साँझ बेलायती संसद् भवनको एक कक्षमा गर्न लागिएको एक विशेष कार्यक्रममा सम्वोधन गर्ने कार्यक्रम छ । उक्त कार्यक्रममा बेलायतका एसिया मामिला हेर्ने विदेश राज्यमन्त्री, उद्योग, व्यापार तथा वाणिज्यमन्त्री, बेलायती सांसदहरू एवं नेपाली समुदायका प्रतिनिधिको उपस्थिति रहने जनाइएको छ ।
प्रतिकृया दिनुहॊस