काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवामाथि डडेलधुरामा अनावश्यक विमानस्थल निर्माणको प्रयास गरेर कमिसन खाने ध्येय राखेको आरोप लगाएका छन् ।
सिंहदरबारमा बिहीबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा बोल्दै अध्यक्ष नेपालले यो आरोप लगाएका हुन् । उनले भैरहवा र पोखराका अन्तर्राष्ट्रिय विमानस्थल चल्न नसकेको तथ्य थाहा हुँदाहुँदै पनि नयाँ विमानस्थल निर्माणका प्रस्ताव गर्नु देशको स्रोतसाधनको दुरुपयोग हुने बताए ।
नेपालले बैतडी र डोटीका विमानस्थल नै सञ्चालनमा आउन नसकेको अवस्थामा डडेलधुरामा विमानस्थल बनाउन खोज्नु ठेक्कामा कमिसन खाने उद्देश्यले भएको बताएका छन् । “डडेलधुरामा विमानस्थल आवश्यक छैन,” उनले भने, “मेरो जिल्लामा विमानस्थल ल्याइदिएँ भन्ने जनतालाई देखाउन बाहेक अरू कुनै ठोस कारण देखिन्न ।”
उनले विमानस्थलजस्तै देशमा अनावश्यक ठूला संरचनाहरू निर्माण गर्ने प्रथालाई पनि आलोचना गरे । “नेपाल वायुसेवा निगम घाटामा रहेको भनिन्छ, तर अनावश्यक ठूला भवनहरू बनाइँदैछ । अलि सस्तोमा बनाउन सकिने कामलाई पनि महँगो बनाइँदै छ,” उनले थपे ।
अध्यक्ष नेपालले सरकारका यस्ता निर्णयले देशलाई ठूलो आर्थिक नोक्सान पुर्याएको भन्दै जिम्मेवार व्यक्तिहरूले यसबारे जवाफदेही हुनु पर्ने बता ए। “चल्न नसक्ने विमानस्थल निर्माण गरेर राज्यको लगानी खेर फाल्नु गलत हो,” उनले भने ।
उनले उदयपुर र डडेलधुरामा विमानस्थलको आवश्यकता नरहेको पुनः दोहोर्याउँदै अनावश्यक ठेक्कामा कमिसनको लोभले यस्ता काम गरिने आरोप लगाए । उनका अनुसार, “देशको विकासका लागि आवश्यक संरचना निर्माण गर्नु पर्छ, तर यस्ता अनावश्यक निर्माणहरूले स्रोतसाधनको दुरुपयोगमात्र भएको छ ।”
प्रतिकृया दिनुहॊस