काठमाडाैं । रसुवाको गोसाइकुण्ड गाउँपालिका–५ ठूलोस्याफ्रुका निमा तामाङले पुर्खौंदेखि गर्दै आएको कृषि पेसा छाडेका छन्। लगाएको सबै बाली बँदेल, लंगुर, दुम्सीलगायतका जंगली जनावरले नष्ट गर्न थालेपछि उनी पुर्ख्यौली पेसा छाड्न बाध्य भएका हुन्।
तीन वर्षअघिसम्म २२ रोपनी जग्गामा आलु, मकैसहित तरकारी खेती गर्दै आएका तामाङको जग्गा अहिले बाँझै छ। जंगली जनावरले क्षति नपुराओस् भनेर उनले तारबार घेरे, कतिपय गौँडामा त पर्खाल नै लगाए।
तर, जंगली जनावरको ज्यादती रोकिएन। ‘जंगली जनावरले चिराइतो खाँदैनन् भनेर लगाएको थिएँ, त्यो पनि मृगले कलिला मुन्टा चुँडेर सखापै पारिदियो,’ उनले भने, ‘तीन वर्षअघिसम्म भएको सबै जग्गामा बाली लगाउँथे, तर उत्पादन भएका कृषिउपज बँदेल र लंगुरले क्षति पुर्याएर भित्र्याउन नै नपाएपछि अहिले काम नै छाडेँ।’ यो खबर आजको नयाँ पत्रिका दैनिकमा रसुवाबाट अनु आचार्यले लेखेकी छन्।
जुन बाली लगाए पनि जंगली जनावरले क्षति गरेपछि स्थानीय कृषक अहिले सबै जग्गा बाँझै छाडेर विकल्पमा यातायात व्यवसायतिर लागेका छन्। रसुवा, नुवाकोट र सिन्धुपाल्चोक गरी तीन जिल्लाको १७१० वर्गकिलोमिटर क्षेत्रफलमा समेटिएको लाङटाङ राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र मात्रै ४२० वर्गकिलोमिटर छ । उचाइको विविधता पनि त्यत्तिकै छ, झन्डैझन्डै त्रिशूलीको फाँटदेखि ७२४५ मिटरसम्म।
केही वर्षयता जंगली जनावरले कृषिबाली नष्ट गरिदिँदा यस क्षेत्रका किसान चिन्तित हुँदै कृषि पेसा नै परिवर्तन गर्न थालेका छन् । उर्वरभूमि हुँदाहुँदै पनि पाहुनाको स्वागत गर्न बाहिरबाट अन्नदेखि तरकारीसम्म आयात गर्नुपर्ने अवस्थामा पुगेका छन्।
ठूलोस्याफ्रु मात्र होइन, लाङटाङ राष्ट्रिय क्षेत्रको आसपासमा पर्ने जिल्लाको धुन्चे, लाङटाङलगायतका स्थानमा बढ्दो संख्यामा बँदेल र लंगुर मानवबस्तीमा पसेर कृषिबाली विनाश गर्न थालेपछि किसानहरू निरुत्साहित भएका छन् । लाङटाङमा विशेष गरी करु, आलु र फापरबाली लगाइन्छ, तर किसानले बाली भित्र्याउनैै पाउँदैनन्।
प्रतिकृया दिनुहॊस