काठमाडौं । आईएमई ग्रुपले सञ्चालन गरेको आईएमई इन्टरनेसनल मनि एक्स्प्रेस र जीएमई रेमिट्यान्स मर्ज भएका छन् । बुधबार दुवै कम्पनीले आईएमई रेमिट लिमिटेडमार्फत संयुक्त कारोबार गरेका हुन् ।
आईएमई रेमिटका अध्यक्ष चन्द्र ढकालले आजबाट संयुक्त कारोबारमा आएको बताए । उनले आईएमई रेमिट्सले नेपालको रेमिट्यान्स क्षेत्रलाई औपचारिक माध्यममा ल्याउन नेतृत्वदायी भूमिका खेलिरहेको बताए ।
एकीकृत कारोबारको उद्घाटन कार्यक्रममा उनले भने, ‘हामीले व्यवसाय सुरु गर्दा २० प्रतिशत रेमिट्यान्स मात्रै औपचारिक माध्यमबाट भित्रिन्थ्यो । अहिले झण्डै ८० प्रतिशत रेमिट्यान्स औपचारिक माध्यमबाट भित्रिन थालेको छ ।’
यसो हुनुमा आईएमईले मुख्य भूमिका खेलेको उनको भनाइ छ । सन् २००१ मा सानो मनी एक्सचेन्ज काउन्टरको रुपमा सुरु गरेको आईएमई अहिले ठूलो रेमिट्यान्स कम्पनी बनिसकेको छ ।
ढकालका अनुसार कम्पनीले लगभग ५० प्रतिशत रेमिट्यान्स बजार हिस्सा ओगटेको छ । आईएमई रेमिट्यान्समा ढकाल अध्यक्ष छन् भने उनका भाइ हेमराज ढकाल सहसंस्थापक छन् । जीएमई रेमिट्यान्समा भने अध्यक्षमा अर्जुन पौडेल छन् ।




