राष्ट्रियसभा निर्वाचनको मतदान जारी, बेलुकासम्म नतिजा आइसक्ने

काठमाडौं । राष्ट्रियसभा निर्वाचनको मतदान सुरू भएको छ । सातै प्रदेशका विभिन्न मतादान केन्द्रहरूमा बिहान ९ बजे पछिदेखि मतदान सुरू भएको हो ।

रिक्त हुन लागेको १९ स्थानमा आज निर्वाचन हुन लागेको निर्वाचन आयोगले जनाएको छ । मतदान दिउँसो ३ बजेसम्म जारी रहनेछ । मतदान सम्पन्न भएलगत्तै मतगणना सुरू गरी आजै परिणाम सार्वजनिक गर्ने आयोगको तयारी छ । मतदान सकिएको तीन/चार घण्टाभित्रै परिणाम घोषणा हुने निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले बताए ।

आयोगले कोशीका लागि प्रदेश निर्वाचन कार्यालय, मधेशका लागि महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्र, वाग्मतीका लागि भुटनदेवी मावि र प्राविधिक शिक्षालय, गण्डकीमा प्रदेश निर्वाचन कार्यालय, लुम्बिनीमा कर्मचारी मिलन केन्द्र, कर्णालीमा निर्वाचन कार्यालय र सुदूरपश्चिममा प्रदेशसभा भवनलाई मतदानस्थल तोकेको छ ।

निर्वाचनमा भाग लिन १२ राजनीतिक पार्टीले आयोगमा दल दर्ता गरे पनि चुनावी मैदानमा ८ दलका ५१ उम्मेदवार छन् । सत्ता गठबन्धनबाट कांग्रेस, माओवादी, नेकपा (एस) र जसपाले साझा उम्मेदवार अघि सारेर गठबन्धन गरेका छन् । जसमा कांग्रेसका १०, माओवादीका ६, एसका २ र जसपाका १ उम्मेदवार छन् ।

सत्ता गठबन्धनसँग कसिलो प्रतिस्पर्धा रहेको कोशीमा प्रमुख प्रतिपक्ष एमालेले राप्रपासँग गठबन्धन गरेको छ । कोशी सरकारमा सत्ता गठबन्धनसँग सभामुख पद लिएको राप्रपाले राष्ट्रिय सभा सदस्य निर्वाचनमा भने एमालेसँग गठबन्धन गर्न पुगेको हो ।

निर्वाचन आयोगका अनुसार कोशीमा १० हजार १३५, मधेशमा १० हजार ७४४, वाग्मतीमा १० हजार ३३३, गण्डकीमा ६ हजार ४१०, लुम्बिनीमा ८ हजार ७५३, कर्णालीमा ५ हजार ८४ र सुदूरपश्चिममा ६ हजार १०० गरी जम्मा ५७ हजार ५५९ मतभार छ ।

फागुन २० गतेबाट रिक्त हुन लागेका २० पदमध्ये १९ पदमा आज निर्वाचन भइरहेको हो । फागुन २० गते पदावधि सकिने सांसदहरूमा एमालेबाट राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनासहित विमला राई पौड्याल (महिला मनोनीत), दीपा गुरुङ (महिला), इन्दु कडरिया (महिला), दिलकुमारी रावल थापा (महिला), कुमार दसौदी (अन्य), नरपति लुवार (दलित), भैरवकुमार श्रेष्ठ (अन्य) र रामचन्द्र राईसहित ९ जना छन् । कांग्रेसबाट राष्ट्रिय सभा संसदीय दलका नेता रमेशजंग रायमाझीसहित अनिता देवकोटा (महिला), जितेन्द्रनारायण देव, प्रकाश पन्थ (अपांगता) गरी ४ जना, माओवादीबाट बिना पोखरेल (महिला), हरिराम चौधरी (अन्य), महेशकुमार महरा गरी ३ जना, एकीकृत समाजवादीबाट नन्दा चापागाईं, सिंगबहादुर विश्वकर्मा (दलित), जसपाबाट प्रमिला कुमारी (महिला) र स्वतन्त्र खिमलाल देवकोटा छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीलाई विश्वासको मत

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीले विश्वासको मत पाएका छन् । उनले पक्षमा २८ …

प्रतिकृया दिनुहॊस

This will auto close after