नेपालको कीर्तिमानी ब्याटिङ, बनायो टी-२० इतिहासकै उच्च रन

काठमाडौँ । कुशल मल्ल र दीपेन्द्र सिंह ऐरीको कीर्तिमानी ब्याटिङमा नेपालले मंगोलियालाई ३१५ रनको लक्ष्य दिएको छ । १९औँ एसियाली खेलकुदमा मंगोलियाविरुद्ध टस हारेर पहिला ब्याटिङ गरेको नेपालले २० ओभरमा ३ विकेट गुमाउँदै ३१४ रन बनाएको हो ।

नेपालका कुशल मल्ल ५० बलमा ८ चौका र १२ छक्कासहित १३७ रन अविजित बनाए भने दीपेन्द्रसिंह ऐरी १० बलमा ८ छक्कासहित ५२ रन अविजित बनाएका थिए । यो टी-२० इतिहासकै अहिलेसम्मको उच्च योगफल हो । यसअघि अफगानिस्तानले आयरल्याण्डविरुद्ध २०१९ मा सर्वाधिक २७८ रन बनाएको थियो ।

यस खेलमा कुशलले ३४ बलमै शतक प्रहार गरेका थिए । योसँगै कुशल टी-२० को इतिहासमा सर्वाधिक छिटो शतक प्रहार गर्ने ब्याट्सम्यान बनेका छन् । यसअघि टी-२० मा सर्वाधिक छिटो शतक ३५ बलमा थियो । जसमा भारतका रोहित शर्मा, दक्षिण अफ्रिकाका डेविड मिलर र चेक रिपब्लिकनका सुदेश विक्रमशेखरले समान ३५ बलमा शतक हानेका थिए ।

त्यसैगरी दीपेन्द्रसिंह ऐरीले ९ बलमा अर्धशतक पुरा गरेर विश्व कीर्तिमान बनाएका छन् । १९औँ ओभरमा ५ छक्का प्रहार गरेका दीपेन्द्रले भारतीय ब्याट्सम्यान युवराज सिंहको १२ बलमा अर्धशतक बनाएको विश्व कीर्तिमान तोडेका हुन् ।

त्यसैगरी नेपाली कप्तान रोहित पौडेलले २७ बलमा ६१ रन बनाए भने कुशल भुर्तेलले १९ र आसिफ सेखले १६ रन बनाएर आउट भएका थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

चिलीमाथि अर्जेन्टिनाको सहज जित

काठमाडौं । दक्षिण अमेरिकी विश्वकप छनौट अन्तर्गत अर्जेन्टिनाले चिलीलाई पराजित गरेको छ । शुक्रबार बिहान …

प्रतिकृया दिनुहॊस