काठमाडौं । आज बडादशैंको अन्तिम दिन अर्थात आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बसेर मनाइँदैछ ।
आश्विन शुक्ल प्रतिपदाका दिन घटस्थापना गरी प्रारम्भ गरिएको बडादशैं आज कोजाग्रत पूर्णिमाको साँझ घरघरमा महालक्ष्मीको पूजा–आराधना गरी विसर्जन गरिन्छ ।
आजको दिन सायंकालमा महालक्ष्मीको पूजा आराधना गरी राति जाग्राम बसेका मानिसका घरमा पृथ्वी भ्रमण गर्दै हिँडेकी महालक्ष्मी प्रवेश गरी धन, ऐश्वर्य दिई सम्पन्न गरिदिने धार्मिक विश्वास रहिआएको छ । यही विश्वासका कारण यस रात गृहिणीहरू जाग्राम बसी महालक्ष्मीको पूजा–आराधना गर्दछन् ।
माता दुर्गाका तीन रुपमध्येका एक रुप महालक्ष्मीको पूजा गरेर आज दुर्गा पक्षलाई बिदा गरिन्छ । नवरात्र विजयादशमीकै दिन सकिने भए पनि दुर्गा पक्ष भने आश्विन शुक्ल पूर्णिमाका दिनमा समाप्त हुन्छ ।
लक्ष्मीपूजाको १५ दिनअघि महालक्ष्मीको आराधना गरिने भएकाले यस पर्वको विशेष महत्व छ ।
आश्विन शुक्ल पूर्णिमादेखि कार्तिक शुक्ल पूर्णिमासम्म कार्तिक स्नान गरी घरघरमा विशेषरुपमा गरिने तुलसी पूजा पनि आजदेखि नै शुरु हुन्छ । आश्विन शुक्ल पूर्णिमादेखि कार्तिक स्नान गरेर महापातकबाट पनि मुक्त भइने धार्मिक विश्वास छ ।
कार्तिक स्नान गर्नेले आजदेखि कार्तिक शुक्ल पूर्णिमासम्म दुई दल भएका मास, मुगी, मुसुरो, चना, भटमास आदि अन्न खान नहुने शास्त्रीय मान्यता छ । कोजाग्रत पूर्णिमाका अवसरमा स्वयम्भू चैत्यमा महादीप दानसमेत गर्ने गरिन्छ ।
दशैंको टीका कोजाग्रत पूर्णिमादेखि सम्पन्न हुने भएकाले घटस्थापनाका दिन दशैंघर र कोतहरूमा राखिएका जमरा आज विसर्जन गरिन्छ ।
कोजाग्रत पूणिमाका दिन राष्ट्रप्रमुखबाट भक्तपुर गछेंस्थित नवदुर्गा पीठमा पुजा अर्चना गरी यस वर्षको बडादशैं समापन भएको जनाउ दिने प्रचलन रहेको छ ।
प्रतिकृया दिनुहॊस