काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेटमा एकपछि अर्को सफलता प्राप्त गर्दै आएका नेपाली राष्ट्रिय टोलीका युवा खेलाडी सन्दीप लामिछानेले अष्ट्रेलियन लिग खेल्ने भएका छन् ।
सन्दीपले अष्ट्रेलियाको उच्च डिभिजनको क्रिकेट लिगमा मेलबर्न स्टार्सबाट बिग बास खेल्ने भएका छन् ।
क्रिकेटसम्बन्धी बेवसाइट क्रिक इन्फो डटकमका अनुसार सन्दीपले मेलबर्न स्टार्स क्लबसँग सम्झौता गरेका छन् । उनी एसोसिएट राष्ट्रबाट बिग ब्यास खेल्ने पहिलो खेलाडी बनेका छन् ।
हालै अफगानिस्तान प्रिमियर लिग खेलेका सन्दीप डिसेम्बर १९ बाट सुरु हुने बिग बास लिगमा अनुबन्धित भएका हुन् ।
बंगलादेश प्रिमियर लिग जनवरी ५ देखी फेब्रुवरी ८ सम्म हुनेछ । बंगलादेशमा सन्दीपले सिल्हेट सिक्सरबाट खेल्नेछन् । त्यसपछि सन्दीप बिग बासका लागि पुन अष्ट्रेलिया फर्कनेछन् । बिग बास लिग फेब्रुवरी १७ सम्म हुनेछ ।
सन्दीपले आईपीएल, सीपीएल, विश्व टी ट्वान्टी लिग, एपीएल, बीपीएल जस्ता अन्तर्राष्ट्रिय स्तरका लिग प्रतियोगिता खेलेका छन् ।
सन्दीप पहिलो पटक बंगलादेशमा २०१६ मा भएको यू १९ विश्वकपमा चम्किएपछि विश्वभरी चर्चामा आएका थिए ।




