काठमाडौं । नविकरण शुल्क नबुझाएको भन्दै कारोबार रोक्का भएका पाँच कम्पनीको सोमबारदेखि शेयर कारोबार खुलेको छ ।
कारोबार रोक्का भएका २५ कम्पनीमध्ये १३ कम्पनीले नविकरण शुल्क बुझाएपछि सोमबारदेखि ५ कम्पनीको मात्रै कारोबार खुलेको हो ।
नविकरण शुल्क बुझाएपछि नेप्सेले आरएसडीसी लघुवित्त वित्तीय संस्था, छिमेक लघुवित्त विकास बैंक, बेष्ट फाइनान्स, नेशनल हाइड्रोपावर र नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकको कारोबार खुल्ला गरेको हो ।
सोमबार साढे ११ बजेसम्म १३ कम्पनीले नविकरण शुल्क बुझाएको भएपनि ११ बजे अगाडि नै शुल्क बुझाउने कम्पनीको मात्र कारोबार खुला गरिएको नेप्सेले जनाएको छ । सोमबार शुल्क बुझाईसकेका ८ कम्पनीको मंगलबारदेखि कारोबार सुचारु हुनेछ ।
नेप्सेमा सूचिकृत रहेका १९८ वटा कम्पनीहरुमध्ये असोज २९ गतेसम्म १७३ कम्पनीले नविकरण शुल्क बुझाएको नेप्सेले जनाएको छ । अब १२ कम्पनीले मात्रै नविकरण शूल्क बुझाउन बाँकी छ । शुल्क बुझाए पछि कारोबार पुनः सुचारू हुनेछ ।
प्रतिकृया दिनुहॊस