निर्मला हत्या प्रकरण : प्रमाण मास्नेलाई किन चलाइएन मुद्दा ?

काठमाडाैं । कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कार तथा हत्याका प्रमाण प्रहरी अधिकारीहरुबाटै नष्ट गरिएको गृह मन्त्रालयद्वारा गठित छानविन समितिको प्रतिवेदनमा उल्लेख छ । तर, तिनलाई निलम्बनबाहेक अन्य कारबाही गरिएको छैन । यो खबर आजको कान्तिपुर दैनिकमा घनश्याम खड्काले लेखेका छन् ।

कानुनमा प्रमाण नष्ट गर्नेहरू कसुरदार भएकाले संलग्नलाई फौजदारी सजाय गर्नुपर्ने प्रावधान छ । मुलुकी फौजदारी संहिता २०७४ अनुसार प्रमाण नष्ट गर्ने, निर्दोषलाई दोषीका रूपमा प्रस्तुत गर्ने र सत्यतथ्य अनुसन्धान नगरी अपराध ढाकछोप गर्न खोज्नेहरू सजायका भागिदार हुन् ।

‘कसैले कुनै कसुरदारलाई बचाउने नियतले निजले गरेको कसुरसम्बन्धी कुनै प्रमाण दबाउन, नष्ट गर्न वा त्यसलाई प्रमाणका रूपमा प्रयोग गर्न नसकिने गरी बिगार्न हुँदैन,’ संहिताको दफा ९३ मा भनिएको छ, ‘यस्तो कसुर गर्ने वा गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिवाना हुनेछ।’

सरकारले कानुनी व्यवस्थाअनुसार तत्काल मुद्दा चलाउनुपर्ने अधिवक्ता सरोज गिरी बताउँछन् । ‘निर्मला प्रकरणमा प्रहरीले मानसिक स्थिति कमजोर भएका दिलीपसिंह विष्टलाई यातना दिएर कसुर कबुल गर्न लगाएको र प्रमाणहरू नष्ट गरेको सरकारकै प्रतिवेदनमा आइसकेको छ,’ उनले भने।

प्रहरीले निर्मलाको सुरुवाल धोएको र शव पखालेको भिडियो सार्वजनिक भएको औंल्याउँदै प्रतिवेदनमा यसलाई प्रमाण नष्ट पारेको उल्लेख गरिएको छ । ‘निर्मलाको बलात्कार र हत्या घटनासँग सम्बन्धित प्रमाण लाग्न सक्ने वस्तुहरू, भित्री वस्त्र पानीमा चोपलेको, गुप्तांग र तिघ्रा पखालिएको तथा भित्री वस्त्र नै लोप भएको,’ प्रतिवेदनमा उल्लेख छ।

प्रहरीले प्राप्त अन्य प्रमाणसमेत लुकाएको छानबिन समितिले जनाएको छ । ‘२०७५।४।११ गते जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खडा गरिएको घटनास्थल लासजाँच मुचुल्का र दसी सनाखत मुचुल्कामा मृतक पन्तको जीउमा रहको रातो कलेजी रंगको सुरुवाल, रातो रंगको भेस्ट र खरानी रंगको पेन्टीलगायत साइकल, कापी बरामद गरेर प्रहरीले लगेको उल्लेख रहेको,’ प्रतिवेदनमा भनिएको छ, ‘तर बरामद गरी लगिएका उल्लिखित वस्तुहरू हाल नभेटिएको।’

प्रमाण लुकाउने र नष्ट गर्ने प्रहरीको काम दोषीलाई जोगाउने नियतले प्रेरित रहेकाले दफा ९९ अनुसारको समेत कसुर हुन जाने अधिवक्ता गिरीको जिकिर छ । निर्मलाका बाबु यज्ञराज पन्त साउन ७ मा भारत गई साउन १२ गते ९ बजे मात्र नेपाल फर्किएको प्रतिवेदनमा उल्लेख छ ।

‘तर जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खडा भएको दशी सनाखत मुचुल्कामा साउन ११ गते मृतकका बाबु भनी रोहवरमा ल्याप्चे सहीछाप गराएको’ गृह मन्त्रालयको छानबिन समितिले देखाएको छ।

तर प्रहरीबाट ‘लास भेटिएको स्थानको वारिपट्टि अम्बा, कापी तथा साइकल भेटिएको स्थलमा तत्काल कुकुर प्रयोग गर्न सक्ने अवस्था भए पनि स्थानीय प्रहरीबाट अनसुन्धानमा कुकुर प्रयोग नगरिएको’ निष्कर्ष छानबिन समितिले निकालेको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रविलाई कांग्रेसले दियो चुनौती, प्रचण्डसँग यस्तो आग्रह

काठमाडौं । नेपाली कांग्रेसले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेलाई आरोप प्रमाणित गरेर देखाउन चुनौती दिएको …

प्रतिकृया दिनुहॊस