काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहेका अस्ट्रेलियाली सहायक विदेश मन्त्री टिम वाट्सले भेटवार्ता गरेका छन् । बिहान बालुवाटार पुगेर सहायक मन्त्री वाट्सले प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेका हुन् ।
उनीहरुबीच भेटमा द्विपक्षीय हितका विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । भेटमा अस्ट्रेलियामा रहेका नेपाली विद्यार्थीहरूको अवस्था र समस्याहरूका बारेमा चासो व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले नेपालको विकास र समृद्धिमा अस्ट्रेलियन सरकार र जनताको सहयोगको निरन्तरताको अपेक्षा गरेका छन् । सो अवसरमा प्रधानमन्त्री प्रचण्डले अस्ट्रेलियाका प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तो पनि दिएका छन् ।
उनीहरुबीच नेपालको आर्थिक समृद्धिमा कृषि क्षेत्रको व्यवसायीकरण र कृषिमा आधारित उद्योगहरूको विकास र पर्यटन क्षेत्रको प्रवर्द्धनमा सहयोगका बारेमा छलफल भएको थियो । मन्त्री वाट्सले अस्ट्रेलियामा नेपालीहरूले राम्रो प्रभाव पारेको भन्दै उनीहरूको योगदानको प्रशंसा गरे । उनले नेपालको विकास र समृद्धिको अभियानमा अस्ट्रेलियन सरकार र जनताको सहयोगको सहयोग निरन्तर रहने विश्वास दिलाए ।




