काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौँको लैनचौरस्थित शहीद स्तम्भमा माल्यार्पण गरेका छन् । शहीद दिवसको अवसरमा काठमाडौँ महानगरपालिकाले आयोजना गरेको कार्यक्रममा सहभागी भएर प्रधानमन्त्री प्रचण्डले शहीद स्तम्भमा माल्यार्पण गरेका हुन् ।
कार्यक्रममा काठमाडौँ महानगरका मेयर बालेन शाह, राजनीतिक दलका नेता, सरकारी कर्मचारी, सुरक्षाकर्मी लगायत सहभागी थिए ।
नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न नागरिक बनाउन जहानियाँ राणा शासन, निरङ्कुश पञ्चायती व्यवस्था तथा तानासाही राजतन्त्रविरुद्ध प्रजातान्त्रिक क्रान्ति एवम् लोकतान्त्रिक जनआन्दोलनहरूमा आफ्नो जीवनको आहुति गरेका वीर सपूतहरूको सम्झनामा प्रत्येक वर्ष शहीद दिवस मनाइँदै आएको छ ।
वीर शहीद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठको संघर्षमय जीवन र बलिदानको गाथा र प्रजातान्त्रिक आन्दोलनका अरू योद्धाहरूको योगदानमा सहिद दिवस मनाइएको हो ।
निरङ्कुश जहानियाँ राणा शासनविरुद्ध आफ्नो ज्यानको बलिदान गरेका वीर सहिदको स्मरणमा हरेक वर्ष १० माघदेखि १६ सम्म ‘सहिद सप्ताह’ मनाइँदै आएको छ । र, १६ माघलाई शहीद दिवसको रूपमा मनाइन्छ ।
विसं १९९७, १० माघमा निरङ्कुश राणा शासनविरुद्धमा नेपाल प्रजापरिषद् स्थापना गरी जनतालाई आफ्नो हक र अधिकारका लागि क्रान्ति गर्न प्रेरित गर्ने शुक्रराजलाई टेकुस्थित खरीको रूखमा झुन्ड्याएर हत्या गरिएको थियो ।




