बन्ने होईन त आन्तरिक पर्यटक ?

  • डम्मर बम

बिदाको सदुपयोग गर्दै नेपालका धार्मिक तथा पर्यटकीय क्षेत्रमा अवलोकन गर्ने मनसाय धेरैले बनाएका हुन्छन् । नेपालमा सम्भावना बोकेका तथा नेपाललाई परिचित गराएका अनगिन्ती स्थानहरु रहेका छन् । ती स्थानमा आन्तरिक तथा बाह्य पर्यटकहरुहरुको घुँईचो लाग्ने गर्दछ । पर्यटकीय क्षेत्र राष्ट्रको पहिचानमात्र नभएर आर्थिक श्रोत पनि हो । हामीले नेपालका केही घुम्नैपर्ने स्थानमा बारेमा यहाँ चर्चा गरेका छौं । दशैं हाम्रो घर आँगनमा आईसकेको छ । त्यसैले आन्तरिक पर्यटक बन्न चाहनुहुन्छ वा खोजिरहनुभएको छ भने निम्न स्थानमा जानुहोस् । आन्तरिक पर्यटक बनेर आफ्नो देशका मनमोहक ठाउँहरु घुम्नुहोस् । यो दशैंको बिदालाई सदुपयोग गर्नुहोस् ।

नाम्चे बजार
सोलुखुम्बु जिल्लाको नाम्चे बजार नेपालकै एक प्रमुख पर्यटकीय क्षेत्र मध्येको एक हो । सगरमाथाको प्रवेशद्वारको नामले नाम्चे बजार चिनिन्छ । समुन्दी सतहदेखि ३,४४० उचाई मिटरमा यो अवस्थित रहेको छ । पर्यटकीय गन्तब्य आकर्षक थलोका रूपमा नाम्चे बजारलाई चिनिन्छ । सगरमाथा हेर्न तथा आरोहणका लागी बर्षेनी हजारौंको संख्यामा आन्तरिक तथा बाह्य पर्यटकहरु जाने प्रमुख मार्ग हो नाम्चे । नाम्चे साँस्कृतिक हिसावले भन्दा पनी बढी ब्यापारिक तथा पर्यटकीय केन्द्रका रुपमा परिचति छ । सगरमाथा अवलोकनका लागि आउने विदेशी पर्यटकहरुको संख्या नेपालीहरुको भन्दा बढी हुने गरेको छ । यो घुम्नका लागि उपयोगी स्थान हो । त्यसैले आन्तरिक पर्यटक बनौं । देशको अर्थतन्त्र सुधारमा सहयोग गरौं ।

फुङफुङे झरना
ताप्लेजुङ जिल्लाको फुङ्लिंग सदरमुकामबाट एकदिनको पैदल बाटो मिक्वाखोला गाउँपालिकामा अवस्थित झरनाले पर्यटकीय सम्भावना वोकेको छ । ढुंगाको कापबाट झर्ने करिब १३०० मिटर उचाइमा रहेको यो झरना मनमोहक दृश्य रहेको रहेको स्थानीय गोमा भट्टराईले बताइन् । सडक यातायातको पहुँच नभएपनि पैदल यात्राबाट त्यहाँसम्म पुग्न सकिन्छ । थुप्रै पर्यटकीय सम्भावना बोकेको यो झरना प्रचार प्रसारमा भने ओझेलमा परेको छ । सुदुरपूर्वको अर्को धार्मिक पर्यटकीय हिन्दुधर्मालम्बीहरुका प्रसिद्ध तिर्थस्थल हो पाथीभरा मन्दिर । यो ताप्लेजुङ जिल्लामा पर्दछ ।

पोखरा
घुम्न जाने भन्ने वित्तिकै सबैको पहिलो रोजाइमा पर्ने गर्छ पोखरा । पर्यटकका लागि सहज र आकर्षक गन्तब्य हो, पोखरा । सफा र शान्त वातावरण रहेको पोखराको अर्को विशेषता हो । समुद्र सतहबाट १४०० मिटरको उचाइमा अवस्थित पोखरा गण्डकी प्रदेशको सदरमुकाम हो । जुन कास्की जिल्लामा पर्दछ । सुन्दर दृश्यहरु अतिनै मनमोहक छन । उत्तरतिर माछापुच्छ्रे, अन्नपूर्ण र अन्य हिमालले थप सौन्दर्यता थपेको छ । सफा हावा र मनमोहक हरियाली हेर्न पनि मानिसहरु आउने गर्छन् । साराङकोट, धम्पुस, घान्द्रुक, शान्ति–स्तुपा लगायत पोखरामा पर्यटनका अनेक आयामको विकास भएको छ । प्याराग्लाइडिङ, जीपलाइन, अल्ट्राफ्लाइट, बोटिङ, साइक्लिङ, हाइकिङले पोखरालाई मनोरम बनाएको छ ।

पोखरामा फेवातालको बिचमा ताल बाराही मन्दिर, विन्ध्यवासिनी मन्दिर, गुप्तेश्वर गुफा गुफामा धेरै खालका मन्दिरहरु धार्मिक स्थल सहित अर्को रमाइलो स्थल भनेको शान्ति स्तुपा हो । यो स्तुपा पहाडको टुप्पामा छ । यो स्तुपा धेरैजसो बुद्ध धर्मावलम्बीका मानिसले प्रार्थना गर्न आउने ठाउँ हो । यहाँ अन्तराष्ट्रिय हिमाल संग्रहालय छ । जहाँ हिमालको, त्यहाँ बस्ने मानिस, उनीहरुको भेषभुषा र संस्कृति आदिको बारेमा जानकारी दिइएको छ । बेगनास ताल, महेन्द्र गुफा, चमेरे गुफा, रुपा ताल, माटेपानी गुम्बा, बसुन्धरा पार्क, काउडाँडा भ्यु टावर, सराङकोट भ्यु टावर, भिमसेन मन्दिर, अन्नपूर्ण संग्रहालय, सेती खोला, लभ्ली हिल, हलन चोक, सेती गण्डकी, पुरानो पोखरा, गोरखा संग्रहालय, अन्नपूर्ण पुतली संग्रहालय आदि पोखरा गएपछि घुम्नैपर्ने ठाउँहरु हुन् ।

जनकपुरधाम
जानकी अर्थात् सीताको नामले परिचित जानकी मन्दिर उनको जन्मस्थल जनकपुरमा अवस्थित छ । ऐतिहासिक मन्दिर जनकपुरधाम विश्वभरका हिन्दुहरुको लागि चर्चित छ । मुगल शैलीमा बनाइएको जानकी मन्दिर पवित्र धर्मस्थल हो । मन्दिरलाई कलाको उत्कृष्ट नमुना मानिन्छ । प्राचिन मिथिलाको राजधानी जनकपुरमा अवस्थित जानकी मन्दिर विश्वभरका हिन्दुको आस्थाको केन्द्र हो । हिन्दु धर्ममा लोकप्रिय रहेको रामायणकी सीताको जन्मस्थलमा निर्मित यो मन्दिर भव्य र आकर्षक छ । भारत मध्य प्रदेशस्थित टिकमगढकी राजकुमारी वृषभानु कुँवरीले ९ लाख चाँदीका असर्फी खर्चेर निर्माण गराएको मन्दिर भएकाले यसलाई नौलखा मन्दिर पनि भनिन्छ । सन् १८९४ मा शिलान्यास भई सन् १९११ मा मन्दिर निर्माण पूरा भएको थियो । जानकीधाम मैथिली सभ्यताको धरोहर र धार्मिक र सास्कृतिक हिसाबले सम्पन्न मानिन्छ ।

कालिञ्चोक
दोलखा जिल्लामा अवस्थित धार्मिक पर्यटकीय स्थल हो, कालिञ्चोक भगवती । यो सदरमुकाम चरिकोटबाट करिव १५ किलोमिटर उत्तर पर्दछ । ३८४२ मिटरको उचाईमा कालिञ्चोक भगवतीको मन्दिर अवस्थित छ । कालिञ्चोक डाँडाबाट मनोरम रोलवालिङ हिम शृङ्खला र मनोरम प्राकृतिक दृष्यहरूको अवलोकन गर्न सकिन्छ । चरिकोटदेखि करिव १७ किलोमिटर दुरीमा रहेको कुरी बजारसम्म कच्ची मोटरबाटो बनेको छ । जुन बाटोमा जीप गाडी र मोटरसाइकल चलाउन सकिन्छ । प्रकृतिको हरियालीका साथै हिमाली दृश्य हेर्न पाइने भएकाले यो आन्तरिक पर्यटकको गन्तब्य हो । कालिञ्चोक भगवतीको मन्दिर भएकाले धार्मिक हिसाबले पनि महत्वपूर्ण मानिन्छ । मन्दिर परिसरबाट लाङटाङ, रोलवालिङ हिमशृंखला देख्न सकिन्छ । चिसो मौसममा यस क्षेत्रमा हिउँपर्ने भएकाले राजधानीवासी हिउँ खेल्नकै लागि समेत जाने गर्छन् । काठमाडौंदेखि पाँच घण्टाको बस यात्रामा दोलखा सदरमुकाम चरिकोट पुगिन्छ । चरिकोटदेखि कुरीसम्म १७ किलोमिटर कच्ची बाटो छिचोल्न भाडाको जिप पाइन्छ ।

लुम्बिनी
शान्तिभुमि भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी कपिलवस्तु जिल्लाको तिलौराकोटमा पर्दछ । यो एक ऐतिहासिक धार्मिक पर्यटकीय स्थल हो । बर्षेनी लाखौं मानिसहरु अवलोकनका लागि लुम्बिनी आउने गर्दछन् । सुनवलबाट करिब २१–२२ किलोमिटरको दुरिमा लुम्बिनी पर्दछ । बसको करिब ३० मिनेटको यात्रामा यो स्थान रहेको छ । लुम्बिनीको मुख्य आकर्षण केन्द्रविन्दु मायाँदेवी मन्दिर हो । मन्दिर परिसरमा अशोक स्तम्भ र पवित्र पोखरीले आकर्षण थपेका छन् । यो मन्दिरमा बुद्धको जन्मदृश्य सहितको प्राचीन मायादेवी मूर्ति रहेको छ । फराकिलो क्षेत्रमा फैलिएको यहाँको वातावरण मनलाई आनन्दित पार्ने खालको छ । बौद्ध दर्शन अध्ययन (अनुसन्धान गर्नेहरुका लागि पनि लुम्बिनी महत्वपूर्ण स्थल हो । गुम्बाहरु, मन्दिरहरु चारैतिर बुद्धका मुर्तिहरु छन । बिभिन्न घटनाक्रम सम्झाउने बुद्धको जीवनीसँग सम्बन्धित तस्बिर र मुर्तिहरु पनि पाइन्छन् । यहाँ विदेशी पर्यटकको घुँइचो नै लाग्ने गर्छ । आन्तरिक पर्यटकको संख्या पनि हरेक वर्ष बढ्दो छ ।

रारा ताल
मुगु जिल्लामा रहेको रारा ताल नेपालकै सबैभन्दा ठूलो र प्रसिद्ध तालको रुपमा चिनिन्छ । राजा महेन्द्र बीरबिक्रम शाहले वि.स २०२० सालमा स्वर्गकी अप्सरा भनेर यस तालको नामाकरण गरेका थिए । समुन्द्र सतहबाट २ हजार ९ सय ९० मिटरको उचाइमा यो ताल रहेको छ । तालको लम्बाई ३.२ किलोमिटर र १ सय ६७ मिटर गहिरो छ । ताल कुल १०.८ किलोमिटरमा फैलिएको छ । रारा ताल जानको लागि हवाई तथा स्थल मार्ग दुबै प्रयोग गर्न सकिन्छ । सुर्खेतबाट मोटर चढेर कर्णाली राजमार्ग हुँदै जुम्लाको गोरुचौरसम्म पुग्न सकिन्छ ।

जुम्ला सदरमुकाम जोडिइसकेको कर्णाली राजमार्ग अन्तर्गत कालिकोटको नाग्माघाटबाट छुट्टिएर नेपाली भाषाको उद्गमस्थल सिञ्जा उपत्यका हुँदै गोरुचौरबाट रारा तालको छेवैमा पुग्न सकिन्छ । रारा नजिकैको छातीमा फैलिएको घाँसेमैदान, कोणधारी हरियो वन, चारैतिर ठूलो चौर, माथि नीलो आकाश, उत्तरतर्फ लस्करै हिमशृंखला, झरना अनि चिसो सिरेटोसँगै लुकामारी खेलेका सेता बादलको घुम्टोमुनि मनोरम दृश्यहरुले थकान मेटाइदिन्छ । कर्णाली प्रदेशमा रहेको रारा ताल घुम्न वर्षेनी हजारौं पर्यटक पुग्ने गर्छन् ।

बर्दिया राष्ट्रिय निकुञ्ज
बर्दिया राष्ट्रिय निकुञ्ज बर्दिया जिल्लामा पर्दछ । यो निकुञ्ज करिब ९६८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । सन् १९८ मा बर्दिया राष्ट्रिय निकुञ्जको रूपमा यस क्षेत्रलाई घोषणा गरिएको थियो । पूर्णरूपमा तराइ क्षेत्रमा रहेको यस राष्ट्रिय निकुञ्ज स्थापनाको प्रमुख उदेश्य बाघ तथा यसको शिकारको संरक्षण भएपनि गैंडा, घडियाल गोही, कृष्णसार, डल्फिन जस्ता अत्यन्तै लोपोन्मुख वन्यजन्तुहरू यसमा संरक्षित छन । बर्दिया राष्ट्रिय निकुञ्जले करिब ९६ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको छ । बर्दिया राष्ट्रिय निकुञ्जको प्रमुख कार्यालय ठाकुरद्वारामा रहेको छ । जुन पुर्व–पश्चिम राजमार्गको अम्रेनीबाट दक्षिण तर्फ बाटो छुट्टिएको छ । यो निकुञ्ज नेपालको पश्चिममा कर्णाली नदीको पूर्व तिरमा अवस्थित छ ।

निकुञ्ज अन्तर्गत चुरेको माथिल्लो भागतिर केही सल्लाका जंगलहरू छन् भने तराईको धेरैजसो भाग सालको जंगलले ढाकेको र बीच बीचमा घाँसे मैदान रहेको छ । पाटे बाघ, एक सिंगे गैंडा, चितुवा, घोडगधा, जरायो, चित्तल, लगुना, बाह्रसिङ्गा र जंगली हात्ती लगायत ५६ प्रजातिका स्तनधारी वन्यजन्तु यस निकुञ्जमा पाइन्छन् । जलचरहरूमा घडियाल गोही, मगर गोही, सोंस र विभिन्न किसिमका माछा यहाँ पाइन्छन् । यस निकुञ्जमा हालसम्म ४३८ थरी रैथाने र बसाई सरी आउने चराहरूको अभिलेख गरिएको छ । पर्यटनको प्रचुर सम्भावना रहेको यस निकुञ्जमा वर्षेनी पर्यटकको संस्था बढिरहेको छ ।

कर्णाली पूल
सुदरपश्चिमको मूख्य प्रदेशद्धार हो, कर्णाली पुल । जुन नेपालको सबैभन्दा लामो पुल मध्येको एक हो । यो पुल लम्कीचुहा नगरपालिका चिसापानीमा पर्दछ । यो पुल ५०० मिटर लामो र १० मिटर चौडा छ । एसियाकै नमुना मानिएको यो पुलको निर्माण सरकारले सन् १९९३ मा पूरा गरेको हो । यसलाई तार पुल पनि भनिन्छ जसको बिचमा ठूलो खम्बा छ र त्यसमा स्टीलका तारहरु बाँधेर ट्रसलाई अड्याइएको छ । कर्णाली नदीको पौराणिक नाम पञ्चेश्वरी हो । नेपालको सबैभन्दा लामो नदी कर्णाली नदीको लम्वाई ५०७ किमी रहेको छ भने जलप्रवाहित क्षेत्र ४९ हजार वर्ग कि.मी.छ ।

चिसापानीको सिमानासँगै जोडिएको बर्दिया राष्ट्रिय निकुञ्ज र विश्वकै दोस्रो पुलको नामले चिनिने कर्णाली पुल हेर्नको लागि चिसापानीमा पर्यटकहरुको घुइँचो लाग्ने गर्छ । पछिल्लो समय कर्णाली चिसापानी पिकनिक स्थलको रुपमा पनि बिकास भएको छ । विभिन्न जिल्लाबाट पिकनिक मनाउन विद्यार्थी लगायत पर्यटकहरु पुग्ने गर्दछन् । कर्णाली नदीको माछा अरु नदीको माछा भन्दा बढी स्वादिष्ट हुन्छ । माछाका पारखीहरुलाई चिसापानीको माछाको स्वादले छुट्टै आनन्द दिन्छ । कर्णालीमा साहसिक पर्यटकहरुको लागि जलयात्रा अर्थात् ¥याफ्टिङ पनि गर्न सकिन्छ । साहसिक जलयात्राले पर्यटकहरुलाई आनन्द र मनोरञ्जन दिने गरेको छ । कैलालीको सुन्दर टीकापुर पार्क, घोडाघोडी, गोदावरी कुण्ड सहित यो पनि एक पर्यटकीय स्थल हो ।

खप्तड
२२५ वर्ग कि.मि. क्षेत्रफलमा फैलिएको खप्तड राष्ट्रिय निकुञ्ज बझाङ, बाजुरा, डोटी र अछाम जिल्लाको संगमस्थलमा अवस्थित छ । विशाल फाँटहरु, हिउँदमा सेताम्मे र बैशाख–जेठमा रंगीविरंगी फूलले छपक्कै, प्राकृतिक सुन्दरताको मापन गर्दा स्वर्गको टुक्रा जस्तो देखिन्छ, खप्तड । सुदूरपश्चिमको मनोरम पर्यटकीय स्थल खप्तड क्षेत्र प्राकृतिक हिसाबका साथै धार्मिक दृष्टिले पनि निकै महत्वपूर्ण छ । खप्तड क्षेत्रमा खप्तड बाबाको कुटी छ । त्रिवेणी नदी, खप्पर दह, शिव मन्दिर, सहस्रलिंग, गणेशस्थान, नागढुंगा, केदारढुंगा जस्ता धार्मिक स्थलहरुले खप्तड क्षेत्रलाई विशिष्ट बनाएका छन् ।

यस राष्ट्रिय निकुञ्जले मध्य पहाडी वातावरण, वनस्पति र वन्यजन्तुहरूको प्रतिनिधित्व गर्दछ । यस निकुञ्जमा सल्ला, खसुर र निगालाके जगंलहरूका साथै वन्यजन्तुका लागि उपयुक्त घाँसे मैदान रहेका छन् । यहाँ पाइने वन्यजन्तुमा रतुवा मृग, कस्तुरी मृग, घोरल, चितुवा, जंगली कुकुर, जंगली बिरालो, रातो बाँदर, लंगुर बाँदरका साथै डाँफे, मुनाल जस्ता सुन्दर चराचुरुङ्गीहरूको प्रधानता रहेको छ । सुन्दर स्थानहरूमा गंगा दशहरा, जनैपूर्णिमा जस्ता धार्मिक पर्वमा हजारौंको संख्यामा तीर्थयात्रीहरू भेला भई मेला भर्ने गर्दछन् । सुदुरपश्चिममा रहेका उग्रतारा मन्दीर, शैलेश्वरी मन्दिर, बडिमालिका लगायत धार्मिक तथा पर्यटकीय सम्भावना बोकेको खप्तड पनि एक हो ।

नवीन सन्देशबाट

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

आकाश र धर्ती : बुवा र आमा

आमा धर्ती हुन् भने बुवा आकाश । हामीले यो बच्चैदेखि सुन्दै आएको प्रसंग हो । आमाबिना बुवा र बुवाबिना आमाको अस्तित्व सम्भव छैन । धर्ती र आकाशको संयोजननै बुवा र आमाको अस्तित्व हो अथवा भनौं बुवाआमा दुबैका कारण आज संसार टिकेको छ ।

प्रतिकृया दिनुहॊस