काठमाडौँ । मङ्सिर ४ को चुनावको मिति नजिकिँदै गर्दा देश अहिले चुनावमय भएको छ । उम्मेदवारको अंकगणित र लेखाजोखा हरेक चिया पसलदेखि सामाजिक सञ्जाल र मिडियामा सुन्न, देख्न र पढ्न सकिन्छ ।
तर काठमाडौँ १ अन्तर्गत प्रदेशसभा २ मा काँग्रेसको तर्फबाट उम्मेदवार बनेका सुरजचन्द्र लामिछाने जित्नेका ढुक्क छन् । जनतामाझ लोकप्रिय युवा नेता लामिछानेले उम्मेदवारी दिएलगत्तै आफ्नो प्रचार प्रसार अभियान तीव्र पारेका छन् । यस क्षेत्रमा प्रतिनिधि सभातर्फ नेपाली कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंह र प्रदेश १ मा दीपेन्द्र श्रेष्ठको उम्मेदवारी परेको छ ।
सुख, दुःखमा क्षेत्रवासीलाई सबै खालको सहयोग गर्दै आएका पुरानो वानेश्वर भिमसेनगोला स्थायी घर भएका लामिछानेको उम्मेदवारीबाट स्थानीय समेत निकै हौसिएका छन् । अघिल्लो प्रदेश सभा निर्वाचनमा अत्यन्त झिनो अन्तर (१८ मत)ले पराजित भएपनि लामिछाने विगतको ५ वर्षको अवधिमा विजयी उम्मेदवारसँगै सक्रिय रहे ।
०४४ बाटै नेविसंघको राजनीति शुरु गरेका लामिछानेले वाणिज्य शास्त्रमा स्नातकोत्तर तह पूरा गरेका छन् । ०४६ सालको पहिलो जनआन्दोलनमा सक्रिय सहभागी लामिछानेले २०५६ सालमा केन्द्रीय क्याम्पस कीर्तिपुरमा स्ववियु निर्वाचनमा सहभागिता जनाएका थिए । नेविसंघपछि तरुण दलको राजनीतिमा सक्रिय लामिछानेले तरुण दलको केन्द्रीय पार्षद् पनि रहिसकेका छन् ।
०५८ साल असोज १८ मा तत्कालीन राजा ज्ञानेन्द्रको प्रतिगमन विरुद्ध उनले जोडदार रूपमा काठमाडौँको सडक तताएका थिए । ०६१ साल माघ १९ को शाही कदमको विरुद्धमा निकै सक्रिय भई लागेका लामिछाने २०६२/६३ को आन्दोलनमा पटक पटक प्रहरीको धरपकडमा परेका थिए । नेपाली कांग्रेसको १२ औँ महाधिवेशनदेखि निरन्तर महाधिवेशन प्रतिनिधि रहेका लामिछाने हाल महासमिति सदस्यको भूमिकामा छन् ।
विभिन्न सामाजिक संघ संस्थामा पनि उत्तिकै सक्रिय लामिछाने २०७२ सालको महाभूकम्प र कोभिड महामारीको समयमा राहत वितरण कार्यक्रममा अहोरात्र खटिएका थिए । यो क्षेत्रमा युवा समाजसेवीको समेत छवि बनाएका लामिछानेले कोरोना महामारीको संकटको बेला मानिसहरूलाई सहयोगमात्र गरेनन्, कोरोनाविरुद्ध जनचेतना जगाउने कार्यमा समेत सक्रियता देखाए । समाजसेवा र विकासका कार्यलाई प्रभावकारी तथा सशक्त बनाउने अभियान लामिछाने संसद्मा पुग्ने दोस्रो प्रयासमा छन् । यतिबेला उनी जनताको घर दैलोमा मत माग्न व्यस्त छन् ।
लामिछानेले यसपटकको निर्वाचनमा विजयी भएमा विगतको सामाजिक सेवा गर्दा बुझेको समाजको अवस्था र त्यसको रूपान्तरण र विकासका नीति निर्माणदेखि विकासका व्यवस्थित योजना ल्याउने बताएका छन् । उनको उम्मेदवारीले सामाजिक तथा बौद्धिक क्षेत्रमा समेत अब उनी जस्ता व्यक्तिलाई संसद्मा पठाउनु पर्छ भन्ने बहसको थालनी भएको छ ।
मतदातासँगको अन्तर्क्रिया र भेटघाटमा व्यस्त रहेका लामिछानेले आफ्नो क्षेत्रको चौतर्फी विकासका लागि खाका समेत तयार गरेका छन् । ‘आधुनिक संसारका जुनसुकै व्यक्तिले आफ्नो फाइदाको लागि काम गर्छ र त्यसलाई गलत पनि मान्नु हुन्न । गलत त्यो हो, जो अरूलाई हानी पुर्याएर आफ्नो फाइदा गर्न मात्र खोज्छन्,’ लामिछाने भन्छन् ‘हामीलाई हानी गरेर आफ्नो फाइदा गर्ने त्यस्ता अवसरवादीको पहिचान गर्न नसक्नु हाम्रो कमजोरी हो ।’
लामिछानेले प्रदेश सभामा आफू जस्तो स्वच्छ, नैतिक, जुझारु र निष्ठावान् अनुभवी र युवा जोश भएको उम्मेदवारलाई विजयी गराउन मतदातासँग आग्रह गरेका छन् । ‘समयले साथ दिएको बेला चुप लागेर नबसौँ, अवसरवादीको पहिचान नहुँदा विगतको ५ वर्षजस्तै पुर्पुरोमा हात लगाएर बस्नु पर्ने हुन सक्छ । तसर्थ सच्चा ईमान्दार व्यक्तिलाई भोट हालौँ’, उनले भने ।




