- डम्मर बम
१४ वर्ष पहिले (२०६५ जेठ १५ गते) आजैकै दिन जननिर्वाचित पहिलो संविधानसभाबाट निरङ्कुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै गणतन्त्र नेपाल घोषणा गरिएसँगै नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको भयो । सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भका लागि लाखौँ नागरिक सडकमा उत्रिएर र हजारौँले बलिदानी दिए ।
यस बलीदानीको मूल उद्देश्य राज्यको सम्पूर्ण शक्ति जनतामा निहित हुनु हो, जहाँ निरङ्कुश एकात्मक राजतन्त्रको विधिवत् अन्त्य गरी मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ गर्नु थियो । फलस्वरूप वि.सं २०६४ चैत २८ मा सम्पन्न पहिलो संविधानसभा निर्वाचनको संविधानसभाको २०६५ जेठ १५ गते बसेको पहिलो बैठकले २४० वर्षे राजसंस्थाको विधिवत् अन्त्य गर्यो ।
राजसंस्थाको विधिवत् अन्त्यसँगै नेपाली जनताले राज्यको सम्पूर्ण शक्ति जनतामा निहित हुने सपना देखे, सपना देखेको आज १४ वर्ष हुँदा समेत ती सपना बिपनामा परिणत हुने छनक अझै देखिएको छैन । दिनप्रति दिन बढ्दै गइरहेको महँगी र बेरोजगारीले जनताको ढाड सेक्ने काम गरेको छ । संविधान जारी भएसँगै नेपालमा तीन तहको सरकार छ । एउटा सानो राज्यमा तीन तहको सरकार आवश्यक छ, छैन त्यो छर्लगं छ ।
गणतन्त्र स्थापना पछि नेपालमा कुन कुन कुरामा परिवर्तन भयो ? के नेपालले आर्थिक रूपमा समृद्धि हासिल गर्यो ? विकास निर्माणका कामले गति लियो ? निर्माणाधीन संरचनाले पूर्णता पायो । जनताको दैनिकीमा कुनै परिवर्तन आयो ? यी र यस्ता प्रश्नको जवाफ सरकारसँग छ ?
नेपाल राष्ट्र बैङ्कले प्रकाशित गरेको तथ्याङ्क अनुसार गत आवको माघ महिनाको तुलनामा चालु आवको माघ महिनामा मुद्रास्फीति ३.१७ प्रतिशत विन्दुले बढ्यो । चालु आ.व.को माघ महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.९७ प्रतिशत छ, भने जबकि अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति २.७० प्रतिशत थियो । २०७७ माघ महिनाको तुलनामा २०७८ माघ महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू तथा तेल, तरकारी र दाल तथा गेडागुडी उपसमूहको मूल्यवृद्धि क्रमशः २०.६८ प्रतिशत, १४.०७ प्रतिशत र ९.३६ प्रतिशत थियो । साथै, गैर–खाद्य तथा सेवा समूह अन्तर्गत यातायात, शिक्षा र फर्निसिङ्ग तथा घरायसी सामग्री उपसमूहको मुद्रास्फीति क्रमशः १५.८७ प्रतिशत, ७.८६ प्रतिशत र ५.९२ प्रतिशत छ ।
नेपालीको औसत आम्दानी तुलनामा खर्च बढी छ, मानिसका आधारभूत आवश्यकता शिक्षा, स्वास्थ्य जस्ता कुरा आम मानिसको पहुँच भन्दा माथि रहेको छ । यस्तो अवस्थामा “धनी झन् धनी र गरिब झन् गरिब हुँदै गइरहेको अवस्था छ ।” गणतन्त्रको अनुभूति “हुनेखानेले मात्र होइन हुँदा खानेले” समेत गर्न पाउनु पर्छ । प्रत्येक वर्ष गणतन्त्रको दिन सरकारले सार्वजनिक बिदा दिने गर्दछ र टुँडिखेलमा एक कार्यक्रमको आयोजना तामझामका साथ गर्दछ, तर त्यसको औचित्य के ?
जब मानिसका न्यूनतम आवश्यकता परिपूर्ति प्रति सरकार गैर जिम्मेवार हुन्छ, भने साँच्चै भन्दा व्यवस्था परिवर्तन भएपनि जनताको अवस्थामा भने कुनै सुधार भएको देखिँदैन । भ्रष्ट्राचार, कालोबजारी, महँगी चरम रूपमा बढेको छ । यसको नियमन गर्नु पर्ने ठाउँमा राजनीतिक रूपमा नै संरक्षण हुने गरेको आभास हुनेको गरेको छ ।
संविधान जारीपछिको दोस्रो पटक भएको स्थानीय निकायको निर्वाचनमा तीन ठाउँमा स्वतन्त्र उम्मेदवारले जित हासिल गरे, जहाँ जनताले राजनीतिक दलको विकल्पको रूपमा ती उम्मेदवारलाई निर्वाचित गराएको रूपमा हेरिएको छ । काठमाडौँ महानगरमा स्वतन्त्र उम्मेदवारले जित हासिल गरेसँगै राजनीतिक दलहरूमा तरगं ल्याएको छ । देशमा सुशासन व्यवस्था नहुँदा सरकारी कार्यालयको कामकारबाही प्रति जनताहरू आजित भएका छन् ।
देशमा बढ्दै गएको बेरोजगारीका कारण अहिले युवा जनशक्ति विदेश पलायन हुनुपर्ने अवस्था छ । मानिसले विकल्पको रूपमा रोजगारीका नाम होस या उच्च शिक्षाका लागि विदेशको यात्रा तय गरिरहेका छन् । जनतालाई सरकार भएको प्रत्याभूति दिलाउन र समृद्धिका लागि तीन तहको सरकारको निर्माण गरिएको छ, ठुलो मात्रामा गठन गरिएको संरचनाले व्यवस्थापनमा चालु खर्च बढी देखिएको छ तर विकासका लागि गरिने पुँजीगत खर्चले वित्तीय प्रगति हासिल गर्न नसकेको सरकारी तथ्याङ्कले देखाउँछ । वर्षौँ देखिको संरचना पूर्णता पाउँदै, विकासले गति लिँदैन र जनताको दैनिकीमा सामान्य रूपमा परिवर्तन हुँदैन भने गणतन्त्र के र के का लागि ? राज्यको पूर्नसंचना हुँदैमा हुँदै त्यो अनुसारको आमूल परिवर्तन हुन सक्नु पर्ने हुन्छ ।
जुन उद्देश्यका लागि हजारौँले ज्यानको आहुति दिए त्यसको प्रत्याभूति जनताले गर्न पाउनु पर्दछ । अनि मात्र जनताको रगत र पसिनाको सम्मान हुनेछ । जुनसुकै व्यवस्थामा आएपनि जनताको अवस्थामा कुनै परिवर्तन नआएमा गणतन्त्रको नाम मात्र गणतन्त्र नयाँ नेपाल हुनेछ । त्यसैले देशको समृद्धि नै राज्यको प्रमुख दायित्व हो सबैले गणतन्त्रको अनुभूति गर्न पाउन सबैमा गणतन्त्रको शुभकामना ।




