काठमाडौं ।सर्लाहीकी १८ वर्षीया कविता नेपाली नेपालकै पहिलो डान्सिङ सुपरस्टार बनेकी छिन् । एपीवान टेलिभिजनद्वारा आयोजित अन्तर्राष्ट्रिय डान्सिङ रियालिटी सो ‘बुगीवुगी’को फाइनल राउन्डमा उनले अन्तिम दुई प्रतिस्पर्धीलाई उछिन्दै विजेता बनेकी हुन् । याे उपाधिसँगै उनले नगद २५ लाख रुपैयाँ पनि जितिन् ।
उता अर्की चर्चित डान्सर प्रगति पुन फस्ट रनरअप भएकी छन् । उनले ६ लाख रुपैयाँ प्राप्त गरेकी छन् । त्यस्तै सरोज मोक्तान सेकेन्ड रनरअप बने । उनले चार लाख रुपैयाँ प्राप्त गरे ।
अन्तिम राउन्ड दुई सातासम्म चलेको थियो । फाइनल विजेता घोषणा गर्ने दिन नजिकिँदै जाँदा अन्तिम तीन प्रतिस्पर्धी प्रगति, कविता र सरोजका फ्यानहरूले उनीहरूको पक्षमा भोट गर्न विभिन्न कार्यक्रम नै अायाेजना समेत गरेका थिए ।
एपीवान टेलिभिजनले अन्तर्राष्ट्रिय फे्रन्चाइज बुगीवुगी रियालिटी सो नेपालमा पहिलोपटक आयोजना गरेको हो । लगभग आठ महिनासम्म चलेको यो कार्यक्रमको निर्णायकमा अभिनेता दिलीप रायमाझी, अभिनेत्री प्रियंका कार्की तथा कोरियोग्राफर कविराज गहतराज रहेका थिए ।
श्री शान्ति विद्याश्रम ललितपुरमा ११ कक्षामा अध्ययन गर्ने सर्लाहीकी कविता नेपाली अहिले ललितपुरको पाटनमा बस्छिन् । अन्तर्जातीय विवाह गरेका कविताका आमाबुवाले उनलाई धेरै पढाउने सपना देखेका छन् ।
मार्सल आर्टकी खेलाडी कविता कलेजकी अब्बल विद्यार्थी हुन् । नाचसँगै पढाइ अघि बढाउने उनको चाहना छ । उनले भनिन्, ‘प्रतिस्पर्धाका लागि यहाँ आएकी थिएँ तर एउटा राम्रो परिवार जोडेर जाँदै छु । यो नै मेरो लागि अमूल्य उपहार हो, उनले भनिन् ।
प्रतिकृया दिनुहॊस