थापा र त्रिपाठीका नयाँ दलले स्थानीय चुनावमा भाग लिन पाउलान् ?

काठमाडौँ । २०७४ मा सम्पन्न प्रतिनिधि सभाको अघिल्लो निर्वाचनमा नेकपा एमालेको चुनाव चिह्न सूर्य लिएर निर्वाचनमा उठेका पूर्वमन्त्री हृदयेश त्रिपाठी र राप्रपाका निवर्तमान अध्यक्ष कमल थापाले नयाँ दल दर्ताको तयारी गरेका छन् ।

स्थानीय तहको निर्वाचन घोषणा भइसकेपछिको अवस्थामा दल दर्ता गर्न पाइने कि नपाइने भन्ने विषयमा उनीहरू निकट नेताहरू निर्वाचन आयोगसँग सोधपुछ गर्न आयोग पुगेका थिए । आयोगले दल दर्ताका लागि बन्देज नभएको जवाफ दिएपछि त्रिपाठी र थापा नयाँ दल दर्ताको तयारीमा जुटेका छन् । उनीहरू दुवैले फरकफरक दल दर्ता गर्ने तयारी गरेका हुन् ।

मंगलबार गृहजिल्ला हेटौडामा पत्रकार सम्मेलन गरेर पार्टी परित्यागको घोषणा गरेका थापाले नयाँ दल गर्दाको अन्तिम तयारी गरेका छन् । बिहीबार राजधानीमा बसेको बसेको थापा समूहको बैठकले नयाँ पार्टी दर्ता गर्ने निर्णय गरेको हो ।

बैठकले चाँडै दल दर्ता गर्न थापालाई जिम्मेवारी उनी निकट नेता राजाराम बर्तौलाले जानकारी दिए । हिन्दुत्व, सुशासन र समृद्धिलाई मुख्य एजेण्डा बनाएर दल दर्ता गर्न नेता थापालाई जिम्मेवारी दिइएको छ । फागुन पहिलो साताभित्र दल दर्ता गरिसक्ने गरी थापा समूहले तयारी थालेको छ ।

बैठकमा थापाले पार्टीको नाम र चुनाव चिह्न प्रस्ताव गर्न आग्रह गरेकोमा राष्ट्रिय एकता पार्टी नेपाल नाम राख्नुपर्नेमा जोड दिइएको बताइएको छ । पार्टीको नेतृत्व कमल थापाले नै गर्नेछन् भने सुरुवाती चरणमा पदाधिकारीमा उद्धव पौडेल, सुशील श्रेष्ठ, चन्द्र बहादुर गुरुङ, बर्तौलालगायत रहनेछन् ।

दर्ताको तयारीमा त्रिपाठीको पार्टी
गत मंसिर २८ गते (मंगलबार) ‘जनता प्रगतिशील पार्टी’ गठनको घोषणा गरेका हृदयेश त्रिपाठीले पनि दल दर्ताका तयारी गरेका छन् । देशमा पार्टीको अभाव भएर नयाँ दलको गठन भएको नभई वैचारिक बहस प्रायः शून्य भएकोले पार्टी गठन गर्नु परेको भनाई थियो ।

उनले भनेका थिए, ‘वर्तमान अवस्था तथा राज्यका तीनवटै अंगहरू व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका प्रभावहीन तथा गतिहीन रहेको अवस्थामा संविधानको कार्यान्वयनलाई बाधा उत्पन्न भई देशको राजनीति नै लिक भन्दा बाहिर गइरहेको देखिन्छ अन्य दलको आलोचना गरेर आफू असल दल साबित गर्ने अस्वस्थ्य प्रतिस्पर्धामा हाम्रो रुचि रहने छैन तसर्थ अन्य दलप्रति हाम्रो आत्मीय सम्मान छ ।’

के भन्छ निर्वाचन आयोग ?
त्रिपाठीले मंगलबार निर्वाचन आयोगमा पुगेर दल दर्ताबारे परामर्श गरेका थिए । स्थानीय चुनावको मिति घोषणा भइसकेको अवस्थामा अब नयाँ पार्टी दर्ता गरेर चुनावमा भाग लिन मिल्छ कि मिल्दैन भन्ने प्रश्न उठेको छ । निर्वाचन आयोगले संविधानको धारा २६९ अनुसार दल दर्ता गर्ने गर्दछ । त्यसरी दर्ता भएर आयोगको सूचीमा कायम रहेको दल निर्वाचन प्रयोजनका लागि धारा २७१ अनुसार फेरि आयोगमा दर्ता हुनुपर्ने प्रावधान छ ।

स्थानीय चुनावको मिति घोषणा भइसकेको अवस्थामा अहिले आयोगले धारा २७१ अनुसार दल दर्ताको आह्वान गर्दै सूचना प्रकाशित गर्ने तयारी गरिरहेको छ । आयोगमा हालसम्म १०५ वटा दल दर्ता छन् । ‘आयोगले कुनै पनि समय पार्टी दर्ता गर्दिनँ भन्न पाइँदैन, यो आयोगको रेगुलर काम हो’ निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने, ‘अब हृदयेश त्रिपाठी र कमल थापाले खोल्ने दुवै पार्टीले निर्वाचन आयोगद्वारा धारा २७१ अनुसारको सूचना प्रकाशित हुनुपूर्व नै धारा २६९ अनुसार दर्ता भएर प्रमाणपत्र लिएको अवस्थामा फेरि चुनावी प्रयोजनका लागि २७१ दर्ता भएर स्थानीय चुनावमा भाग लिन पाउँछन् ।’

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

झ्याप्ले खोलामा थप ७ वटा शव फेला

काठमाडाैं । धादिङको झ्याप्ले खोला क्षेत्रमा थप ७ वटा शव भेटिएका छन् । पहिरोमा पुरिएको …

प्रतिकृया दिनुहॊस