काठमाडौं । क्रियाशील पत्रकार महिला (डब्लुडब्लुजे)को आयोजनामा पत्रकार महिलाका लागि समाचार तथा फिचर सम्पादन तालिम काठमाडाैमा सम्पन्न भएको छ । संचार तथा सूचना प्रविधी मन्त्रालयको सहयोगमा सम्पन्न साे तालिमको उद्घाटन गर्दै मन्त्रालयका सचिव महेन्द्रमान गुरुंगले पत्रकारिता समाजभन्दा बाहिर जान नसक्ने हुनाले समाज परिवर्तन गरि देश विकास गर्न याे क्षेत्रकाे महत्वपूर्ण भूमिका रहने बताए ।
नेपाल सरकारले हाल राष्ट्रिय आम संचार नीति निर्माण गर्दै गरेकाले पत्रकार महिला मैत्री नीति बनाउनेमा आफूले पहल गर्ने समेत सचिव गुरुगंले जानकारी गराए । 
हालै गाेरखापत्र संस्थानमा निमित्त महाप्रवन्धकमा नियूक्त गरिएका हरिकला अधिकारीलाई सम्मान गरिएको कार्यक्रममा सम्मानित पत्रकार अधिकारीले आफूले उक्त पदसम्म पुग्नका लागि गर्नुपरेको संघर्ष तथा जीवनमा कहिले पनि हार नमानेकाे अनुभव सुनार्इन ।
कार्यक्रममा नेपाल पत्रकार महासंघकी सदस्य जानुका बरालले महासंघले पत्रकार महिलाका लागि आगामी दिनमा गर्न लागेका कार्यक्रमका बारेमा जानकारी गराइन । तालिमका श्रोत ब्यक्ति नागरिक दैनिकका प्रधान सम्पादक गुणराज लुईटेलले पत्रकार महिलाले आफूले कुनै एउटा बिटमा काम गरे पनि सबै विषयमा उत्तिकै जानकार हुनु अहिलेकाे आवश्यक रहेको बताए । यस तालिमले पत्रकार महिलालाई रिपोर्टिंगमा मात्र नभई डेस्कमा बस्न समेत सक्षम बनाउने वताउँदै समाचार र फिचर सम्पादनका टेक्निक पनि सजिलाेगरी सिकाए । 
कार्यक्रममा संस्थाकी अध्यक्ष अमिका राजथलाले तालिम संचालन गर्नुको उदेश्य वताउँदै डब्लुडब्लुजेले पत्रकार महिलाको क्षमता अभिवृद्धिका लागि आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताइन् । त्यसैगरि संस्थाले पत्रकार महिलाको रोस्टर तयार गर्ने, बरिष्ठ पत्रकार महिलाका प्रोफाइल तयार गर्ने र अग्रज पत्रकार महिलालाई सम्मान गर्ने कार्यक्रम पनि तय गरेको उनले जानकारी गरार्इन् ।




