“मान्छेको मुत्यु कसरी हुन्छ यो महत्वपूर्ण होइन, मान्छे कुन प्रकारले जिवित थियो यो महत्वपूर्ण हो ।” आज यी सकारात्मक भावहरुले हामीलाई जिस्काउँदैछ । किनकि यति बेला विश्वकपको रौनकसंगै नेपाली फ्यानहरुको आन्तरीक सोंचाई, हेराई र बोलाईका गतिविधिहरु हाम्रो सामु छताछुल्ल भएर पोखिएका छन् । जसले गर्दा माथिका हरफहरुले हामी नेपालीलाई फेरी एकपटक कनपटीमा जोडसंग धक्का दिदैछ ।
खेल खेल्नु र खेल खेल्दै गरेका खेलाडीको फ्यान हुनु प्रत्येक व्यक्तिको सो इच्छामा भर पर्दछ । सोही इच्छा अनुसार आफूले मन पराएका देश र खेलाडीको लागि हौसला र प्रेरणा दिने अधिकार सबैमा छ । तर यति बेला हाम्रो नेपाली बजारमा विश्वकपको नाममा आफ्नै दाईभाई, आफ्नै दिदीबहिनी, आफूसंगै रातदिन दुःख सुखमा साथ दिने साथीभाईहरुको भावनालाई ठेस पुराउने खालको दरिद्र एवं लज्जास्पद शब्दहरुको विकविकीले चर्चा कमाएको छ ।
जुन चर्चाले कतै हामी आफै आफैमा विखण्डीत त भएका छैनौ भन्ने संकेत दिदैछ किन कि आक्रोशित आत्मा देखि पोखिएका भावहरुको मनोदशाले त्यही बताउंदैछ ।
झट्ट हेर्दा त ति पोखिएका आक्रोसित भावहरुले कतिपय देश र खेलाडीलाई पार्टीकरणको नामकरण गरी आफ्नै खोरमा दाखिला गरेका शब्दछालहरु भेटिए, त्यसको कुनै लेखाजोखा छैन् । आज फेसबुकका भित्ताहरु ट्वीटर र इन्स्टाग्रामका भित्ताहरु मज्जाले रंगीएका छन् । जसले गर्दा हामीलाई थाहा हुन्छ कि नेपाली फ्यानहरुको सोचाई हेराई र बोलाईको नापतौल कति छ भन्ने कुरा ।
विश्वकपको प्रतिश्प्रर्धामा रमाउंदै गर्दा आफ्नै मित्रजनहरुको कति मन दुखाएका छौं भन्ने अनुभव हुन सकेको छैन । जसरी हुन्छ, आफैले मन पराएका खेलाडी र देशले जित्नु पर्ने एकोहोरोवाद लादेर अर्का टिमलाई नानाभाती भनेर आफ्नो परिचय दिईराख्दा कतै हामी विदेशी राष्ट्रका नागरिक त होइनौ भन्ने अवस्था सिर्जना भईरहेको छ ।
खेल हो, हार जीत जे पनि हुन सक्छ । विश्वकप खेल्ने कुनै पनि देश र खेलाडी कमजोर हुंदैनन । तर सबैभन्दा ठूलो कुरो समय, हाम्रो साथमा छ कि छैन भन्ने कुरो हो । सबै कुरा बुझेर पनि बुझ पचाउँदै हामी नेपाली फ्यानहरु आफै आफै मपाई भनेर तुच्छ शब्दहरु प्रहार गरेर आज आफ्नैहरुबाट टाढिएका छौं ।
के यस्तो कार्य गर्नु हाम्रो लागि ठिक हो ? तर हामी बुझेर पनि बुझ पाएका छौं किन कि हामी आफूलाई सुपरियर ठान्छौं । सबै मैले भनेकै ठिक । मैले भने अनुसार नै हुनु पर्ने । मैले मन पराएकैले जित्नु पर्ने जस्ता सोंच पालेर समाजमा हुर्किएका छौं । जसले गर्दा खेल हेरेर खेलको मज्जा लिनुको सट्टा पीडाबोध भईरहेको गन्धहरु देखिएको छ ।
मैदानमा खेल खेल्न जांदा कसलाई जित्न मन लाग्दैन होला र ? कसलाई हार्न रहर हुन्छ र ? त्यही पनि विश्वकप जस्तो खेलमा, तर हामीले ति मैदानमा खेल्दै गरेका खेलाडीको मेहेनत, अनुशासन र राष्ट्रप्रतिको त्यागलाई कदर गर्न सकेनौ । हारे पनि जिते पनि उनीहरु आफ्नो लागि मात्र होइन आफ्नो देश र आफ्नो फ्यानहरुका लागि मरेर खेलेका छन् । तर खेल हो, एउटाले जित्नु छ त अर्कोले हार्नै पर्छ । तर सबै कुरा बुझेर पनि हामी नेपाली फ्यानहरु आफै आफैमा लडेर आफ्ना आन्तरिक चरित्रहरु देखाउदैछौं । के त्यति मात्र हो हाम्रो हैसियत ? हुंदा हुंदा हामीले आफ्नै नाबालक नानीबाबुहरुलाई पनि खेलको एडिक बनाएर छाड्यौ । आफैले मन पाएको देश र खेलाडीले जित्नै पर्छ भन्ने कुरामा जोड दियौ ।
खेल कसले राम्रो खेलेको छ ? कसरी हाम्रा बालबच्चाले भोलिको दिनमा राम्रो खेल्न सक्छ भनेर सम्झाउनुको साटो मेरै गोरुको बाह्रै टक्का भने जस्तो पाराले बालबच्चाहरुको होसहवास लग्न पछि परेनौं । जसले गर्दा व्यक्ति छनौटमा परियो । देश छनौटमा परियो तर ति राम्रा खेलाडीबाट खेलिएका खेलको कलाकारिता सिकाईएन । जसले गर्दा आफ्नो टिम हार्दै गर्दा आत्मग्लानी हुनु परयो भने कतिलाई रिसले आगो भएर आंखाकान नदेखेर टिभी फोड्ने घरका सामानहरु फ्याक्ने र प्रतिपक्षलाई नानाभाती भनेर आफ्नो आन्तरिक चरित्र देखाउन पाउंदा गर्व महसुस भएको देख्दा आज बाध्य भएर प्रश्न गर्नु परेको छ, के हामी नेपाली भनाउंदाको हैसियत त्यति मात्र हो ?
विश्वले फड्को मारिसकेको छ । किन कि पृथ्वी गोलो छ । हिजो जे थियो आज त्यो नहुन सक्छ । र समय परिवर्तनशील छ । तर विश्वकप नेपालको राजनीतिक जस्तो होइन जहां नातावाद र कृपावादको हावि अनि चाकरीबाद र अधिनायकबादको धम्म ।
खेलको मज्जा लिनुको साटो तात्तो न छारो आफ्ना नकारात्मक सोचाई, हेराई र बोलाईको गन्ध देखाई आफू भित्रको सत्यता, नैतिकता र सुन्दरतालाई बिलिन बनाएर आफ्ना चरित्र प्रस्तुत गर्दा आफै रंगमञ्चमा हांसोको पात्र बन्नु परयो । त्यसले गर्दा ति विश्वकप खेलिरहेका देश र खेलाडीलाई केही फरक पर्दैन । फरक त हामी आफ्नै नेपाली दाजुभाई, दिदीबहिनी, मित्रजनहरुलाई पर्दछ भन्ने हेक्का हामीले राख्न सकेनौं । हरेक गतिविधिमा हामीलाई मनोपोलि राजनीतिकका रंगहरु देखाउनै पर्छ । जसले गर्दा हामी कुन दर्जामा छौं भन्ने ठूला ठूला मै हुं भन्ने अच्छाखासा देश हाक्न सक्नु भन्नेहरु आफूलाई राष्ट्रवाद र जनता प्रेमी भन्नेहरु पनि यो विश्वकप हेर्दै गर्दा शरीरभित्र अवस्थित आत्मामा सजाई राखेका फोहोरमैलो देख्न बाध्य बनायो ।
हामीलाई थाहा भएकै कुरो हो जुन टिममा सबै खेलाडीहरुले आत्माबलका साथ खेलप्रति इमान्दार र अनुशासन भएर खेल्ने गरेका छन्, अन्तिममा उसैले जित्ने गर्दछ ।
एक जना खेलाडीले खेलेर मात्र फुटबल खेल जित्ने होइन किन कि सामुहिक खेलमा सबैको उपस्थिति र मेहनत आत्माशक्ति उच्च हुनुपर्छ । अनि मात्र खेल जित्न सम्भव छ भन्ने कुरा सबैलाई हेक्का भएकै हुनुपर्छ । तर हामीलाई अरुको सफलता र जीत भएको हेर्ने बानी छैन । आफ्ना प्रतिपक्ष खुशी भएको देख्न हामी चाहादैनौ । किन कि, अरुको खुशी र सफलता हेर्न हामिमा इच्छा शक्ति गुमाई सकेका छौं । रिस उठ्छ र हामी उग्र हुने गर्दछौं । तर सबै भन्दा दुःखको कुरा तब हुन्छ जब मैदानमा वर्षौदेखि खेलेर विजयीको सफलता देखेको हुन्छ अनि नमजाले हार्नु पर्छ । उसले गरेकोको त्याग, मेहेनत र अनुशासन गुम्न पुग्छ । हारको पीडा सबैलाई हुन्छ किन कि जीतको सपना सबैले बोकेका हुन्छन् तर खेल खेल्दै गर्दा कुन देशले कुन तरिकाले कति सम्मको अनुशासन,, मेहेनत, नैतिकता, कलाकारिता, विवेक र आत्माबलले खेलेको छ भन्ने कुरामा निर्भर हुन्छ । यी सबै भएर पनि अन्तिम जीतको लागि समयले साथ दिनु पर्छ । किन कि समय भनेको भगवान हो । अदृश्य शक्ति विना जति नै कराएर रुएरपनि काम लाग्दैन । हामी भित्र जुन आत्मा छ त्यो आत्मा नै भगवानको अंश भएको हुंदा समयले पूर्ण रुपमा साथ दियो भने खेलमा मात्र होइन हरेक कुरामा सफलता हात पार्न सकिन्छ ।
तर विश्वकपमा हेरौं, खेल जित्नको लागि अर्का खेलाडीको खुटटाका हिकाउने, धकल्ने र लडाउने त्यस्ता खेलाडीलाई इमानदार अनुशासन र नैतिकवान खेलाडीको दायरा भित्र पदैन । जुन खेलाडीले त्यस्ता खेल खेले उनीहरुले आफू त बदनाम भए भए आफ्नो देशलाई पनि विश्वमा झेली राष्ट्रको रुपमा चिनाउन पछि परेनन् । विश्वकप जस्तो खेलमा पनि यस्ता धाँधलीपूर्ण तरिकाले खेलेको देख्दा हेर्ने फ्यानहरुलाई नमज्जा लागेको हुनुपर्छ । किन कि, त्यो कुराको नोटिस यो लेखिकाले पनि गरेको थियो ।
खयेर जे होस् आज विश्वको खेल घरमा बसी बसी प्रत्यक्ष रुपमा हेर्न पाएका छौं त्यो नै हाम्रो लागि ठूलो उपलब्धी हो । जसका माध्यमबाट अब हामी नेपालीले पनि आउंदा दिनमा कसरी हाम्रो देशको उपस्थिति त्यो ठाउंमा पुर्याउन सकिन्छ । हाम्रा नेपाली जनताका सन्तान पनि कहिले विश्वकपमा भाग लिएर सफलता हासिल गर्न सक्छ भन्ने विषयमा गम्भीर भएर सोच्ने बेला आएको छ । किन कि, हिजो हाम्रो पहुँच थिएन आज पनि छैन तर भोलिको दिन अवश्य आउनेछ । त्यो सपना देखेर आजबाट नै सम्बन्धीत निकायले पहल गर्नुपर्छ त्यसलाई ठाउंमा पुर्याउन युवाशक्तिले खबरदारी गर्न पछि पर्नु हुदैन । त्यसको एउटै मात्र समाधानको उपाय भनेको हामी भित्रबाट एकताको सन्देश जान जरुरी छ । हामी भित्र मानवताबाद हुन जरुरी छ ।
जबसम्म हामी भित्र मानवतावादको सोचाई, बोलाई र हेराईका सकारात्मक विकास हुंदैन तबसम्म हामी भित्र न त सत्यता हुन्छ न त नैतिकता हुन्छ न त सुन्दरता नै हुन्छ । यो कुरालाई आत्मासाथ गर्न सक्यो भने भविष्यमा हाम्रा सन्नतीले पनि आज जसरी अन्य देशहरुले विश्वकप खेलेर आफ्नो खेल र देशको नाम राख्न सफल भएका छन् ।
यसरी नै हाम्रो देश नेपालले पनि विश्वमा नाम राख्नेछन् । जसरी आज विश्वमा विर नेपाली भनेर हामी नेपालीको पहिचान र चिनारी भएको छ ।
मानिस भएर धर्तिमा जन्म लिई सकेपछि एक दिन मर्नु त छ तर मर्नु भन्दा पहिला आफ्नो मन, बचन र कर्म कस्तो हुनुपर्छ भन्ने कुरा हामीले कहिल्यै विर्सिनु हुंदैन । जब यी तीन कुरा विर्सिन्छौं तब हामी मानवतावादबाट झरेर दानवताको चरित्रको शिरोभार गर्न पुग्छौं । जुन कुरा मानवताबाद भित्र पदैन् ।
प्रतिकृया दिनुहॊस