बागलुङ । क्वारेन्टिन व्यवस्थापनलाई लिएर प्रश्न उठिरहेका बेला यहाँका केही वडाले भने स्तरीय क्वारेन्टिनको प्रबन्ध गरेका छन् । क्वारेन्टिनस्थलमा बस्ने समूहका अलग भान्सा छन् । टिभी, इन्टरनेट लगायत अतिरिक्त सुविधा दिइएको छ ।
व्यवस्थापनमा स्थानीयवासी खटिएका छन् । गलकोट नगरपालिका–७ मल्मस्थित प्रगति आधारभूत विद्यालयमा निर्मित क्वारेन्टिनको निगरानीका लागि ‘सिसी क्यामेरा’समेत जडान गरिएको छ । सो क्वारेन्टिनमा अहिले भारतबाट आएका चार जना छ । सोही वडाको जनहित माध्यमिक विद्यालयको क्वारेन्टिनमा आठ, दीपज्योति आधारभूत विद्यालयमा चार र म्याले सामुदायिक भवनमा एक जना छन् ।
विदेशसहित बाहिरी ठाउँबाट आएका वडावासीको क्वारेन्टिन बसाइलाई सहज तुल्याउन यथाशक्य प्रयास गरिएको प्रगति आवि क्वारेन्टिन निर्माण तथा व्यवस्थापन समितिका संयोजक थम्मन थापाले बताए ।
“खाद्यान्न, विस्तारा र व्यक्तिगत सरसफाइका सामग्री नगरपालिकाले उपलब्ध गराएको छ”, संयोजक थापाले भने, “बाँकी स्थानीय रुपमा व्यवस्थापन गरेका छौँ ।” व्यवस्थापन समितिले नै भान्साका लागि ग्यास चूल्हो, भाँडाकुँडा आदि उपलब्ध गराएको छ । जनहित माविको क्वारेन्टिनमा रहेका राजु चोखालले इन्टरनेट हेरेर समय बित्ने गरेको बताए ।
“हामी तीन जनाको समूह बनाएर बसेका छौँ, भान्सा पनि छुट्टाछुट्टै छ”, उनले भने, “खाना, बसाइमा कुनै कमी र असुविधा छैन ।” बरु, क्वारेन्टिनको बसाइ लम्बिएकामा उहाँको गुनासो छ । उहाँ क्वारेन्टिन बसेको २१ दिन भयो । आठ दिनअघि कोरोना जाँचका लागि स्वाब लिइए पनि अझै रिपोर्ट आएको छैन । प्रगति आविको क्वारेन्टिनमा बस्नेले पनि टिभी र इन्टरनेट हेरेर दिन काट्छन् ।
समय बिताउने माध्यम भएपछि एक्लोपनाको महसुस गर्न पाएका छैनन् । सुविधायुक्त क्वारेन्टिनस्थलले केही सन्तोष दिएको छ । व्यवस्थापन समितिले क्वारेन्टिनस्थलको सुरक्षा निगरानी र रेखदेख गर्दै आएको छ




