भक्तपुर । महानगरीय प्रहरी परिसर भक्तपुरमा कार्यरत एक प्रहरी जवानसहित तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रहरी जवानमा कोरोना संक्रमण पुष्टि भएपछि सञ्चार कक्ष शिल गरिएको छ ।
उनको सम्पर्कमा रहेका १२ जना प्रहरीहरुलाई क्वारेन्टिनमा राखिएको छ । चाँगुनारायण नगरपालिका घर भई परिसरको सञ्चार कक्षमा कार्यरत ३२ वर्षीय एक प्रहरीसहित भक्तपुरमा तीन जनामा बुधबार कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । तीनै जनालाई बुधबारै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचारका लागि पठाइएको छ ।
‘सञ्चार कक्ष हाम्रो सबैभन्दा माथिल्लो तलामा हुन्छ । त्यहाँ काम गर्ने सबैलाई तल–माथि गर्न बन्द गरिएको छ । त्यहीं खाना सप्लाई गर्ने, ट्वाइलेट पनि त्यहींकै प्रयोग गर्ने गरी राखिएको छ’, महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरीक्षक दीपक थापा भने । सञ्चार कक्षमा काम गर्ने प्रहरीलाई खोकी लागेपछि गत जेठ ३१ गते स्वाब संकलन गरी पीसीआर परीक्षण गर्दा बुधबार उनको रिपोर्ट पोजेटिभ आएको थियो ।
त्यसैगरी भक्तपुर नगरपालिका–६ गोल्मढीका २२ वर्षीय पुरुषलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । पीसीआरको नतिजामा ती पुरुषलाई संक्रमण पुष्टि भएपछि पुरुषको सम्पर्कमा रहेकाको पहिचान गर्ने, उनी बस्ने घर र आसपासको क्षेत्र शिल गर्ने र सम्पर्कमा रहेकाको पीसीआर परीक्षण गर्ने तयारी भइरहेको छ ।
यसअघि गत जेठ ३० गते कुबेत सरकारको आममाफी पाएर स्वदेश फर्किएकी र खरीपाटीस्थित क्वारेन्टिनमा राखिएकी नवलपरासी गैंडाकोटकी २२ वर्षीया युवतीलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो ।




