काठमाडौं । उपत्यका, संघीय सरकारको राजधानी मात्र होइन, अपराधको राजधानी पनि बन्दै गएको छ । उपत्यकाको तथ्यांक हेर्दा प्रत्येक घन्टा कम्तीमा दुई अपराधका घटना भइरहेका छन् । प्रहरीकै तथ्यांकअनुसार आर्थिक वर्ष ०७५–०७६ मा उपत्यकाभित्र दश हजार २०९ मुद्दा दर्ता भएका छन् । तर, अपराध न्यूनीकरण गर्ने प्रहरी जनशक्तिको भने अभाव छ ।
मुद्दा दर्ताका आधारमा काठमाडौंका न्युरोड, ठमेल, बलाजु, थानकोट र स्वयम्भुलाई अपराधको एल्लो जोनका रूपमा लिन सकिन्छ । आर्थिक वर्ष ०७५–७६ मा न्युरोड तथा वसन्तपुर क्षेत्रमा मात्रै चार सय ८१ अपराधका घटना भएका छन् ।
जसमध्ये एक सय १५ बैंकिङ कसुर र दुई सय १४ सार्वजनिक अपराधसँग सम्बन्धित छन् । बाँकी आठ बलात्कार, ३९ चोरी, तीन ठगी र २७ लागुऔषधसँग सम्बन्धित छन् । सोही वर्ष ठमेल क्षेत्रमा चार सय ४२ अपराधका घटना भए ।
बैंकिङ कसुरसँग सम्बन्धित ८२, बलात्कारका १५, सार्वजनिक एक सय ८२, चोरीका ३८, ठगीका ६ र लागुऔषधसँग सम्बन्धित २५ अपराध भएको तथ्यांक छ । बालाजु क्षेत्रमा सोही वर्ष तीन सय ९७ अपराधका घटना भए ।
त्यस्तै, थानकोट क्षेत्रमा तीन सय ६४, सातदोबाटोमा तीन सय ६५ र स्वयम्भु क्षेत्रमा तीन सय २९ अपराधका घटना भए । यी क्षेत्रमा बैंकिङ कसुर र सार्वजनिक अपराधसँग सम्बन्धित मुद्दा धेरै छन् । त्यसबाहेक बलात्कार, ठगी, चोरी र लागुऔषधका अपराध भएका छन् ।
अपराधका पाँच ‘ग्रे जोन’
काठमाडौंका दरबार मार्ग, सिंहदरबार, कमलपोखरी तथा भक्तपुरका ठिमी र जगाती अपराध तथ्यांकका आधारमा ‘ग्रे जोन’मा पर्छन् । तथ्यांकअनुसार यस क्षेत्रमा प्रत्येक वर्ष दुई सयदेखि तीन सयको संख्यामा अपराध भएको देखिन्छ ।
अधिकांश अपराध बैंकिङ कसुर र सार्वजनिक प्रकृतिका छन् । बाँकी बलात्कार, चोरी, ठगी र लागुऔषधसँग सम्बन्धित छन् । तुलनात्मक रूपमा उपत्यकाभित्र अपराध कम हुने क्षेत्र भक्तपुर, ललितपुरको चापागाउँ र काठमाडौंको कीर्तिपुर हुन् । भक्तपुरमा दुई सय हाराहारीमा अपराधका घटना भएका छन् भने ललितपुरको चापागाउँमा सयभन्दा कम छन् । कीर्तिपुरमा एक सय ५० अपराधका घटना भएका छन् ।
सदाबहार अपराध चोरी
प्रहरीको तथ्यांकअनुसार उपत्यकाभित्र हुने सबैभन्दा धेरै अपराध बैंकिङ कसुरका छन् । यो अपराध मुद्दा आर्थिक वर्ष ०७५–७६ मा अत्यधिक बढेको देखिन्छ । तर, चोरी विगत र वर्तमान दुवै अवधिमा उत्तिकै दरमा भएको देखिन्छ ।
चोरी उपत्यकाभित्र हुने सदाबहार अपराध हो । आर्थिक वर्ष ०७५–७६ मा उपत्यकामा चोरीका सात सय ३९ घटना भएका थिए । आर्थिक वर्ष ०७४–७५ मा चार सय ४४ चोरी भएका थिए । तथ्यांक विश्लेषण गर्दा उपत्यकामा प्रत्येक दिन कम्तीमा दुई चोरी हुने गरेको देखिन्छ ।
सहरका कुन क्षेत्रमा कस्ता अपराध ?
टेकु – उपत्यकाका तीन जिल्लाअन्तर्गत मुद्दा दर्ता हुने प्रहरीका २१ युनिट छन् । यीमध्ये तीन परिसर कार्यालय र १८ वृत्त कार्यालय छन् । प्रहरी तथ्यांकअनुसार सबैभन्दा धेरै मुद्दा महानगरीय प्रहरी परिसर, टेकुमा दर्ता हुन्छ ।
आर्थिक वर्ष ०७५–७६ मा टेकुमा मात्रै एक हजार ६ सय ३८ मुद्दा दर्ता भए । अधिकांश मुद्दा बैंकिङ कसुर, साइबर अपराध र सार्वजनिक अपराधसँग सम्बन्धित छन् । त्यस्तै, चोरी, बलात्कार, ठगी तथा लागुऔषधसँग सम्बन्धित मुद्दा धेरै दर्ता भएका छन् । अपराधमा टेकु, सुन्धारा र बागमती नदी आसपासका क्षेत्र बढी संवेदनशील छन् ।
महाराजगन्ज – राष्ट्रपति कार्यालय हुँदै नयाँ बसपार्क, टोखा, बूढानीलकण्ठ, बाँसबारी, तारेभिरदेखि शिवपुरी राष्ट्रिय निकुञ्जसम्मको सुरक्षा जिम्मा महाराजगन्ज वृत्तको हो । तर, सबैभन्दा धेरै अपराध हुने गोंगबु र नयाँ बसपार्क क्षेत्र हो ।
यो क्षेत्रमा खासगरी बलात्कार, लागुऔषध, गुण्डागर्दी, चोरी, डकैतीलगायत अपराध धेरै हुन्छ । महानगरीय प्रहरी परिसर काठमाडौँको तथ्यांकले पनि यसलाई पुष्टि गर्छ । तथ्यांकअनुसार आर्थिक वर्ष ०७५–७६ मा महाराजगन्ज वृत्तमा मात्रै नौ सय तीन मुद्दा दर्ता भए । सबैभन्दा धेरै बैंकिङ कसुर र सार्वजनिक मुद्दा छन् । बलात्कार, चोरी, ठगी र लागुऔषधसम्बन्धी अपराध पनि उत्तिकै धेरै छन् ।
बौद्ध – मुद्दा दर्ताका आधारमा सबैभन्दा धेरै अपराध हुने क्षेत्र बौद्ध हो । यस क्षेत्रका तिनचुले, जोरपाटी, नयाँबस्ती र बौद्ध आसपासका क्षेत्रमा धेरै अपराध हुने गरेका छन् । तथ्यांकअनुसार आर्थिक वर्ष ०७५–७६ मा बौद्ध क्षेत्रमा मात्रै आठ सय २० मुद्दा दर्ता भएका थिए । अधिकांश मुद्दा बैंकिङ कसुर र सार्वजनिक अपराधका छन् । त्यसपछि चोरी, ठगी, बलात्कार र जुवासम्बन्धी अपराध यो क्षेत्रमा धेरै हुने गरेका छन् ।
बानेश्वर – मुद्दा दर्ताका आधारमा बानेश्वरमा पनि धेरै अपराध हुने गरेको देखिन्छ । खासगरी कोटेश्वर र बागमती नदी किनारका सुकुमबासी बस्ती क्षेत्रमा अपराधका धेरै घटना हुने गरेको प्रहरी तथ्यांक छ । आर्थिक वर्ष ०७५–७६ मा बानेश्वर वृत्तमा सात सय ९३ मुद्दा दर्ता भए । यीमध्ये अधिकांश बैंकिङ कसुर र सार्वजनिक अपराधसँग सम्बन्धित छन् । त्यस्तै बलात्कार, चोरी, ठगी र लागुऔषधसम्बन्धी मुद्दा धेरै छन् ।
ललितपुर – ललितपुरमा खासगरी झम्सिखेल आसपासको क्षेत्रमा बढी अपराधका घटना हुने गरेको तथ्यांकले देखाउँछ । यो क्षेत्रमा ०७५–७६ मा सात सय दुई अपराध भए । तीमध्ये अधिकांश अपराध सार्वजनिक मुद्दासँग सम्बन्धित थिए । त्यसबाहेक लागुऔषध, बलात्कार, चोरी र ठगीसँग सम्बन्धित मुद्दा धेरै छन् ।
कालिमाटी – कालिमाटी प्रहरीले हेर्ने क्षेत्रमध्ये कुलेश्वर, कलंकी आसपासमा धेरै अपराध हुने गरेको छ । ०७५–७६ मा महानगरीय प्रहरी वृत्त कालिमाटीमा ६ सय ८० अपराधका मुद्दा दर्ता भए । यीमध्ये अधिकांश बैंकिङ कसुर र सार्वजनिक अपराधसँग सम्बन्धित छन् । त्यस्तै, चोरी, ठगी, बलात्कार र लागुऔषधसँग सम्बन्धित अपराध पनि यस क्षेत्रमा धेरै हुने गरेका छन् ।
गौशाला – गौशाला प्रहरीमा ०७५–७६ मा ६ सय ३४ मुद्दा दर्ता भएका थिए । तीमध्ये बैंकिङ कसुर र सार्वजनिक अपराधसँग सम्बन्धित धेरै छन् । त्यसबाहेक चोरी, लागुऔषध, ठगी र बलात्कारका घटना पनि धेरै छन् । विशेषगरी पशुपति, गौशाला, तिलगंगा आसपासका क्षेत्रमा अपराधका घटना धेरै हुने गर्छन् ।
काठमाडौं अझै सुरक्षित नै छ
डिआइजी विश्वराज पोखरेल
प्रमुख, महानगरीय प्रहरी कार्यालय
अपराध हुने निश्चित कारण छन् । मुख्य जरो पैसा र यौनसँग जोडिन्छ । आर्थिक कारोबार जोडिएर पनि धेरै अपराध हुन्छन् । रात्रिकालीन होटेल, बार, रेस्टुरेन्ट पनि अपराधका केन्द्र हुन् । त्यहाँ यौनसँग सम्बन्धित गतिविधि बढी हुन्छन् ।
ठमेल, गोंगबु, कोटेश्वर, कलंकी, सुन्धारामा यही कारण धेरै अपराधका घटना हुन्छन् । जहाँ मानवीय मुभमेन्ट धेरै हुन्छ, त्यहाँ अपराध पनि धेरै हुन्छ । किनभने अपराधीले त्यस्तै ठाउँमा आफूलाई सुरक्षित महसुस गर्छन् । नयाँ बसपार्क, सुन्धारा, कोटेश्वर, कलंकी यसैका उदाहरण हुन् ।
नयाँ बसपार्क गोंगबुमा यौनसँग सम्बन्धित कारोबार धेरै हुन्छ । बौद्ध क्षेत्रमा शरणार्थीका अस्थायी बसोवास धेरै छ । त्यसैले त्यहाँ धेरै अपराध हुन्छ । कोटेश्वर क्षेत्रमा अपराध धेरै हुन्छ किनभने त्यहाँ मान्छेको मुभमेन्ट धेरै छ ।
कलंकी क्षेत्रमा अपराध धेरै हुने कारण पनि यही हो । हामीकहाँ दिनदहाडै व्यक्ति हत्या, लुटपाट, बलात्कार वा अर्थतन्त्र नै धराशयी हुने खालका अपराध भएका छैनन् । काठमाडौं अझै सुरक्षित नै छ, त्यसैले अहिले नै उपत्यकालाई अपराधका रेड जोन भनेर घोषणा गर्ने वेला भएको छैन ।
प्रत्येक घन्टा दुई अपराध, तर प्रहरी जनशक्तिको अभाव
उपत्यकाभित्रको तथ्यांक हेर्दा प्रत्येक घन्टा कम्तीमा दुई अपराधका घटना हुन्छन् । तर, अपराध न्यूनीकरण गर्ने प्रहरी जनशक्तिको भने अभाव छ । निर्धारित दरबन्दीअनुसार पनि छैन ।
महानगरीय प्रहरी कार्यालयका अनुसार उपत्यकाभित्रको सुरक्षा गर्न सरकारले ११ हजार ६ सय ८९ सुरक्षाकर्मीको दरबन्दी स्वीकृत गरेको छ । तर, अहिले कार्यरत सुरक्षाकर्मीको संख्या नौ हजार नौ सय ३६ मात्रै छ । यो स्वीकृत दरबन्दीभन्दा दुई हजार पाँच सय ५३ ले कम हो ।
उपत्यकामा बसोवास गर्ने ५० लाख जनसंख्यालाई आधार मान्दा एक सुरक्षाकर्मीले प्रत्येक दिन पाँच सय ४७ नागरिकको सुरक्षा जिम्मा लिनुपर्छ । जबकि एक प्रहरीको भागमा बढीमा दुई सय नागरिक हुनुपर्ने अन्तर्रा्ष्ट्रिय मान्यता रहेको नेपाल प्रहरीका पूर्व डिआइजी तथा सुरक्षाविद् हेमन्त मल्ल बताउँछन् ।
उपत्यकामा दैनिक २० अपराध, निरन्तर बढ्दो दरमा
प्रहरीमा दर्ता भएका मुद्दाको आधारमा उपत्यकाभित्र प्रत्येक दिन विभिन्न प्रकृतिका कम्तीमा २१ अपराधका घटना हुने गरेको देखिन्छ । यो संख्या प्रत्येक वर्ष बढ्दै गएको छ । आर्थिक वर्ष ०७१–७२ मा पाँच हजार नौ सय ८८ घटना भएका थिए ।
तर, पाँच वर्षपछि ०७५–७६ मा यो संख्या २२ प्रतिशतले बढेर सात हजार सात सय ५१ पुगेको छ । आर्थिक वर्ष ०७२–७३ को तुलनामा भने यो संख्या करिब २० प्रतिशतले धेरै हो । ०७२–७३ मा ६ हजार दुई सय ४४ अपराध भएका थिए । त्यस्तै ०७३–७४ मा पाँच हजार नौ सय २६ अपराध भएका थिए ।
धेरै अपराध हुने क्षेत्रमा १२ घण्टासम्म खटाइ
अपराध घटनाका मुद्दा दर्ता धेरै हुने टेकु, महाराजगन्ज, बौद्ध, बानेश्वर, कालिमाटी र गौशाला क्षेत्रका सुरक्षाकर्मी दैनिक १२ घन्टासम्म काममा खटिनुपर्छ । आठ घन्टा ड्युटी आवर भए पनि अपराधका घटनाले उनीहरूको व्यस्तता बढेको हो । कार्यालय प्रमुख त झन् १९ घन्टासम्म खटिनुपर्छ ।
टेकुस्थित महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तम सुवेदीले नयाँ पत्रिकासँग भने, ‘बिहान ६ बजेदेखि रातको १ बजेसम्म फोन आउँछ । रेकर्ड हेर्दा दैनिक ६ सय कल आउँछन् । भेटघाटका लागि आउने सेवाग्राही उत्तिकै हुन्छन् ।
मुद्दा यहीँ सबैभन्दा धेरै दर्ता हुन्छन् । मैले यहाँ मात्रै हेरेर पनि पुग्दैन, मातहतका १४ वटै वृत्तका प्रत्येक युनिटको रिपोर्ट लिनुपर्छ । त्यसैले व्यस्तताको कुरै नगरौँ ।’ अति व्यस्तताकै कारण महानगरीय प्रहरी वृत्त महाराजगन्जका प्रमुख डिएसपी उमेश लम्साल ६ महिनादेखि पारिवारिक भेटघाटमा गएका छैनन् । उनको पनि सुत्ने अवधि दैनिक ४ घण्टा मात्रै हो । ड्युटीसँग सम्बन्धित फोन प्रत्येक दिन सयभन्दा बढी आउने उनी बताउँछन् । नयाँ पत्रिका दैनिकबाट




