पाल्पा दरबार बन्यो संग्रहालय

पाल्पा । पाल्पा दरबार संग्राहलय सञ्चालनमा आएको छ। प्रदेश ५ अन्तर्गत रहेको संग्राहलय बुधबारदेखि सञ्चालनमा आएको हो। यसअघि दरबारलाई कार्यालय भवनको रुपमा प्रयोग गर्ने वा संग्राहलय बनाउने भन्नेबारे निकै ठूलो बहस चलेको थियो।

पाल्पा दरबार संग्रहालय प्रवेशको लागि फरकफरक शुल्क तोकिएको छ। विद्यार्थीले पाँच रुपैयाँ तिर्नुपर्ने छ भने सर्वसाधारणका लागि १० रुपैयाँ तोकिएको छ। सार्क मुलुकका व्यक्तिका लागि ५० रुपैयाँ र विदेशी नागरिकले एकसय रुपैयाँको टिकट लिनुपर्ने व्यवस्था गरिएको छ। संग्रहालयभित्र फोटो खिच्ने स्वदेशी नागरिकका लागि २५ रुपैयाँ, सार्क मुलकका नागरिकका लागि ५० रुपैयाँ र विदेशी नागरिकका लागि ७५ रुपैयाँ शुल्क तोकिएको छ। यसअघि भने दरबार संग्रहालय हेर्न निशुल्क पाइन्थ्यो।

संस्कृति पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालय अन्तरगत रहेको पाल्पा दरबार संग्राहलय केही महिनाअघि मात्र प्रदेश सरकारको मातहतमा आएको सामाजिक विकास मन्त्रालय प्रदेश नम्बर पाँचका सचीव कृष्णप्रसाद ज्ञवालीले बताए। उनले भने, ‘प्रदेश सरकारको मातहतमा रहेको पाल्पा दरबार संग्रहालयको संरक्षण तानसेन नगरपालिकाले गर्नेछ।’

प्रदेश सांसद तुलाराम घर्तीमगरले प्रदेश ५ को एकमात्र संग्रहालयको रूपमा रहेकोले यसमा १२ वटै जिल्लाको स्वरूप झल्किने गरी विकास गर्ने बताए। तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले यो संग्राहलयलाई विश्वविद्यालयको रूपमा विकास गरिनुपर्ने बताए।  वि.सं. १९८० मा राणाप्रताप शमशेरले निर्माण गरेको पाल्पा दरबार माओवादीको सशस्त्र द्वन्द्वका क्रममा २०६२ माघ १८ गते जलेर ध्वस्त भएको थियो।  २०७२ सालमा पाल्पा दरवार पुरानै स्वरूपमा पुनः निर्माण गरिएको हो।  पाल्पा दरबार संग्राहलयमा ६४ कोठा र दुई बुर्जा छन्।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री