सत्ता सञ्चालनमा चुकेकैले दलहरू असफल : नेता चन्द्र भण्डारी

काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेता चन्द्र भण्डारीले नेपालका राजनीतिक दलहरू सत्ता सञ्चालनको कलामा चुकेकै कारण असफल भएको ठोकुवा गरेका छन्। बुधबार काठमाडौंमा आयोजित एक अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले नेपाली कांग्रेसले प्रजातन्त्र स्थापना र मौलिक अधिकार सुनिश्चिततामा महत्वपूर्ण भूमिका खेले पनि सत्ता सञ्चालनमा भने चुकेको स्वीकार गरे ।

नेता भण्डारीले इतिहास कोट्याउँदै भने, “नेपाली कांग्रेसको इतिहासमा हामीले नेपाली जनतालाई मौलिक अधिकार दियौं। पटक-पटक प्रजातन्त्रका लागि लड्यौं। हामी सफल पनि भयौं। तर, कहाँ चुक्यौंभन्दा हामीले सत्ता सञ्चालन गर्न जानेनौं।” उनले नेताहरू स्वार्थी र लोभी भई आफू बलियो बन्ने दौडमा लाग्दा समग्र दल र व्यवस्था नै कमजोर बनेको धारणा राखे।

वर्तमान समस्याहरूको जड समाधान नगरी युवा पुस्ताको हातमा शक्ति आउने परिकल्पना गर्नु निरर्थक हुने उनको तर्क थियो। भण्डारीले भने, “व्यक्ति परिवर्तन होला, प्रवृत्ति परिवर्तन हुँदैन। प्रवृत्ति परिवर्तन नभईकन मुलुक बलियो पनि हुँदैन, प्रजातन्त्र बलियो हुँदैन, पार्टी पनि बलियो हुँदैन। यो अहिलेसम्मको निष्कर्ष हो।”

देश गम्भीर संकटमा फसेको भन्दै नेता भण्डारीले यदि देशमा कुनै सांस्कृतिक क्रान्ति भएमा त्यसलाई धान्न नसकिने चेतावनी दिए। उनले जननायक बीपी कोइरालाको भनाइ उद्धृत गर्दै भने, “बीपीले त्यतिबेलै भन्नुभएको थियो, हामीले युवालाई साथ दिएनौं भने युवाले पनि हामीलाई साथ दिँदैन। यदि देशमा कुनै सांस्कृतिक क्रान्ति भयो भने हामीले धान्न सक्दैनौं।” उनले अहिले बीपीका कुरा गर्ने तर उनका आचरण र सिद्धान्तलाई आत्मसात नगर्ने प्रवृत्तिप्रति आक्रोश व्यक्त गरे।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री