काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कपिलकुमार दाहाललाई प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा नियुक्त गरेको छ । कम्पनी सञ्चालक समितिको बुधबार बसेको बैठकले दाहाललाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।
यसअघि उनी कम्पनीमा निमित्त सीईओको जिम्मेवारी सम्हालिरहेका थिए । दाहालको नियुक्तिसँगै हिमालयन लाइफ इन्स्योरेन्सले नयाँ नेतृत्व पाएको छ । निवर्तमान सीईओ मनोजकुमार लाल कर्णले गत असोज २७ गते (सोमबार) राजीनामा दिएपछि उक्त पद रिक्त थियो । कर्णको राजीनामा स्वीकृत गर्दै सञ्चालक समितिले असोज २८ गतेदेखि लागू हुने गरी दाहाललाई निमित्त सीईओको जिम्मेवारी दिएको थियो ।
कर्णले पेसागत अभिकर्ता संघले राखेको न्यूनतम बोनस दर प्रतिहजार ५० रुपैयाँ कायम गर्नुपर्ने लगायतका मागहरू पूरा गर्न सम्भव नभएको भन्दै सीईओ पदबाट राजीनामा दिएका थिए । कम्पनीभित्र देखिएका केही जटिलता र बाह्य दबाबका बीच दाहालले अब कम्पनीको बागडोर सम्हाल्नेछन् ।
नवनियुक्त सीईओ दाहालले कम्पनीलाई नयाँ उचाइमा पुर्याउने र सेयरधनी तथा बीमितहरूको विश्वास कायम राख्ने चुनौतीसँगै अवसर पनि पाएका छन् । बीमा क्षेत्रमा उनको अनुभव र नेतृत्व क्षमताले हिमालयन लाइफ इन्स्योरेन्सको आगामी यात्रालाई कस्तो दिशा दिन्छ, त्यो हेर्न बाँकी छ ।




