काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अनलाइन मिडियाको दर्ता र नवीकरण प्रक्रिया तिहारअघि नै सुरु हुने जानकारी गराएका छन् । सूचना तथा प्रसारण विभागको अनुगमन निरीक्षणपछि आयोजित कार्यक्रममा बोल्दै मन्त्री खरेलले सञ्चारकर्मीले लामो समयदेखि भोग्दै आएको झन्झटलाई मध्यनजर गर्दै यो प्रक्रियालाई यथाशीघ्र सहजीकरण गर्न विभागलाई निर्देशन दिएका हुन् ।
मन्त्री खरेलले आफूले मन्त्रालयको जिम्मेवारी सम्हालेलगत्तै मनसुनसम्बन्धी विपद् र दसैँ परेकाले केही ढिलाइ भएको स्वीकार गर्दै, आगामी मन्त्रिपरिषद्बाट निर्णय भई राजपत्रमा प्रकाशित हुनासाथ दर्ता र नवीकरण प्रक्रिया अघि बढ्नेमा विश्वस्त रहेको बताए । उनले भने, ‘यो दर्ता प्रक्रिया सम्भवतः तिहार अगाडि नै अघि बढ्छ । त्यसका लागि विभाग सम्पूर्ण तयारी अवस्थामा छ । दर्ता र नवीकरण गर्न अहिले धेरै साथीहरूले झन्झट बेहोर्नुभएको छ । छिट्टै विभागले सहजीकरण र सेवा सुविधा उपलब्ध गराउने छ ।’
विभागको कार्यशैलीप्रति सन्तुष्टि व्यक्त गर्दै मन्त्री खरेलले सूचना प्रविधि विभाग जनता र पत्रकारसँग प्रत्यक्ष जोडिएको कार्यालय भएकाले सबै सेवाग्राहीलाई विधि र प्रक्रियाको सहजीकरणमा आवश्यक सहयोग पुर्याउँदै आएको बताए । उनले सीमित स्रोत, साधन र जनशक्तिका बाबजुद पनि विभागले राम्रो सेवा प्रवाह गरेकोमा प्रशंसा गरे ।




