तुइन खोलाको पहिरो पन्छाउन समय लाग्ने, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

काठमाडौँ । नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत तुइन खोला नजिक गएको पहिरोका कारण सडक सञ्चालन अझै अनिश्चित बनेको छ । विगत ३६ घण्टादेखि अवरुद्ध रहेको यो महत्वपूर्ण सडकखण्डमा पहिरो पन्छाउने कार्य आज बिहानैदेखि सुरु गरिए पनि पहिरो खस्ने क्रम नरोकिएकाले समस्या उत्पन्न भएको छ ।

डिभिजन सडक कार्यालयका प्रमुख नारायण लामिछानेका अनुसार पहिरो पन्छाउने क्रममा माथिबाट पुनः पहिरो खसिरहेकाले काममा ढिलाइ भएको छ। पहिरो पन्छाउनका लागि मुग्लिनतर्फ तीनवटा र नारायणगढतर्फ दुईवटा हेवी इक्विपमेन्ट प्रयोग भइरहेका छन्। रातको समयमा काम गर्न कठिनाइ हुने भएकाले शनिबार साँझदेखि आज बिहानसम्म पहिरो पन्छाउने काम रोकिएको थियो।

करिब ७० मिटरमाथिबाट खसेको यो विशाल पहिरोले सडकको करिब १६० मिटर भाग ढाकेको छ। पहिरोको उचाइ १६ मिटर र चौडाइ १० मिटर रहेको अनुमान गरिएको छ।

शुक्रबारदेखि सडक अवरुद्ध हुँदा सयौं यात्रु तथा सवारीसाधन अलपत्र परेका छन्। दैनिक १० हजारभन्दा बढी सवारीसाधन आवतजावत गर्ने यो सडक अवरुद्ध हुँदा देशभरको यातायात व्यवस्थामा प्रत्यक्ष असर परेको छ।

सडक डिभिजन भरतपुरले यस सडकखण्ड भएर यात्रा गर्ने सवारीसाधन तथा यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ। यात्रुहरूले नौबिसे-दामन-हेटौँडा वा मुग्लिन-भिमाद-डेढगाउँ-गैँडाकोट (कालीगण्डकी करिडोर) मार्ग हुँदै आफ्नो गन्तव्यमा पुग्न सक्नेछन्।

वर्षायाम सुरु भएसँगै यस सडकखण्डमा पहिरोको जोखिम बढेको छ। यसअघि पनि पटकपटक पहिरोका कारण यो सडक अवरुद्ध हुँदै आएको छ। सडक विभागले यथाशीघ्र पहिरो हटाएर सडक सञ्चालनमा ल्याउने प्रयास गरिरहेको बताएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप