गगन थापालाई प्रवक्ता महतको जवाफ- ‘घाउमा नुन छर्ने प्रवृत्ति’ स्वीकार्य छैन

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी पुनर्गठनको आवाज उठाइरहेका बेला पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले थापाको आलोचना गरेका छन् । अहिलेको संवेदनशील घडीमा पार्टी एकता अपरिहार्य रहेको भन्दै डा. महतले घाउमा नुन छर्ने प्रवृत्ति देखिएको आरोप लगाएका छन् ।

आन्दोलनका क्रममा जलाइएको आफ्नै घरको भग्नावशेषबाट सम्बोधन गर्दै महतले महामन्त्री थापाको नाम नलिई उनीप्रति तीव्र असन्तुष्टि पोखेका हुन् । सभापति शेरबहादुर देउवा उपचाररत रहेको बेला नेतृत्व परिवर्तनको बहस चलाउन खोज्नु अनुपयुक्त भएको उनको भनाइ थियो । डा. महतले वर्तमान परिस्थितिलाई पार्टीभित्र आन्तरिक एकता बलियो बनाउने र कमीकमजोरी हटाउने अवसरका रूपमा लिनुपर्नेमा जोड दिए । उनले भने, ‘अहिले हामी सबै एक भएर आफ्ना कमीकमजोरी हटाउने र आन्तरिक एकता बलियो बनाउने बेला हो । तर घाउ लागेको बेलामा नुन छर्ने गलत प्रवृत्ति देखिएको छ ।’

प्रवक्ता महतले महामन्त्री थापालाई अप्रत्यक्ष रूपमा लक्षित गर्दै भने, ‘२३ गतेभन्दा चार दिन अगाडिसम्म त्यही सभापति अत्यन्त ठीक हुने… हामी त बरु अलि टाढा भएका थियौँ । जुन साथीहरूले अहिले प्रश्न उठाइरहनुभएको छ, तत्काल नेतृत्व परिवर्तनको कुरा गरिरहनुभएको छ, उहाँहरू सबैभन्दा नजिक हुनुहुन्थ्यो । बोली, बचन, वक्तव्य, उठबस हेर्ने हो भने उहाँहरू सबैभन्दा नजिक हुनुहुन्थ्यो ।’

उनले सभापति देउवामाथि ‘सांघातिक प्रहार’ भइरहेका बेला उपचार पूरा नपर्खी नेतृत्व परिवर्तनको कुरा उठाउनु हतारो भएको बताए । ‘अभिभावकमाथि सांघातिक प्रहार हुँदा हामी उपचार पनि पूरा पर्खन सक्दैनौँ ? आकाश नै झरिहाल्छ ?’ उनले प्रश्न गरे ।

नयाँ परिस्थितिमा पार्टीभित्र अवश्य पनि गम्भीर मन्थन र छलफल हुने महतले स्पष्ट पारे । उनले घटनाको मूल्यांकन गरी सुधारका कदम चालिने बताए। तर, कार्यसम्पादन समितिले गरेको आधिकारिक निर्णयभन्दा छुट्टै बहस थाल्नाले पार्टीलाई मजबुत नगर्ने उनको भनाइ थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री