काठमाडौं । अष्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप इन्ड टी-२० सिरिजमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज आफ्नो पाँचौ तथा महत्वपूर्ण खेलमा मेलबर्न रेनेगेड्स एकेडेमीको सामना गर्दैछ । यो खेल नेपाली समय अनुसार बिहान ११ः१५ बजेबाट सुरु हुनेछ ।
लगातार तीन हारपछि अघिल्लो खेलमा होबार्ट हरिकेन्स एकेडेमीलाई ६६ रनले पराजित गर्दै नेपालले सिरिजमा पहिलो जित दर्ता गरेको थियो । यो जितले टोलीको मनोबल बढाएको छ, तर प्रतियोगितामा आफ्नो स्थान सुरक्षित गर्न नेपालका लागि आजको खेल जित्नै पर्ने दबाब छ । हालसम्म खेलेका चार खेलमा एक जित र तीन हार व्यहोरेको नेपाल ११ टिम सहभागी अंक तालिकाको नवौं स्थानमा छ ।
यसअघि नेपाल पहिलो खेलमा नर्दन टेरिटोरी स्ट्राइकसँग ४२ रन, दोस्रो खेलमा बंगलादेश ‘ए’ सँग ३२ रन र तेस्रो खेलमा मेलबर्न स्टार्ससँग ३१ रनले पराजित भएको थियो । अर्कोतर्फ, मेलबर्न रेनेगेड्स एकेडेमीले प्रतियोगितामा राम्रो प्रदर्शन गरिरहेको छ । तीन खेल खेलेको मेलबर्नले दुई जित र एक हारसहित चार अंक जोड्दै अंक तालिकाको पाँचौ स्थानमा आफूलाई उभ्याएको छ ।
आजको खेलमा जित हासिल गर्न सके नेपालले आफ्नो स्थितिमा सुधार गर्नेछ भने हारले प्रतियोगिताबाट बाहिरिने खतरा बढ्नेछ । यस सिरिजमा नेपालले आफ्नो अन्तिम लिग खेल शुक्रबार पाकिस्तान शाहिन्ससँग खेल्नेछ ।




