सुर्खेत । कर्णाली प्रदेश सरकारले आज, भदौ ४ गते, प्रदेश स्थापना तथा शहीद दिवसको अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिएको छ । आन्दोलन र बलिदानबाट प्राप्त भएको प्रदेशको स्थापनाको दिनलाई उत्सवका रूपमा मनाउँदै सरकारले विभिन्न कार्यक्रमको आयोजना गरेको छ ।
प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता उत्तम गौतमका अनुसार, २०८१ चैत १७ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार आज प्रदेशका सबै सरकारी कार्यालय तथा सार्वजनिक संस्थानहरूमा बिदा दिइएको हो । दिवसका अवसरमा बुधबार बिहान प्रभातफेरि कार्यक्रम आयोजना गरिएको छ भने बिहीबारसम्म विभिन्न कार्यक्रमहरू गरी दिवसलाई उत्सवका रूपमा मनाइने तयारी छ ।
आजभन्दा ९ वर्षअघि राज्य पुनर्संरचनाका क्रममा कर्णाली र भेरी क्षेत्रलाई सुदूरपश्चिममा गाभ्ने प्रस्तावको विरुद्धमा सशक्त आन्दोलन भएको थियो । अखण्ड मध्यपश्चिमको माग गर्दै २०७२ साउन २४ गते सुर्खेतबाट सुरु भएको आन्दोलनले विशाल रूप लिएको थियो । करिब १३ दिनसम्म चलेको उक्त आन्दोलनको परिणामस्वरूप, तत्कालीन सरकार २०७२ भदौ ४ गते हालको कर्णाली प्रदेश (तत्कालीन प्रदेश नं. ६) स्थापना गर्न सहमत भएको थियो । यही ऐतिहासिक दिनको सम्झनामा हरेक वर्ष भदौ ४ गतेलाई प्रदेश स्थापना दिवसका रूपमा मनाइन्छ ।
प्रदेश प्राप्तिको आन्दोलनका क्रममा सुर्खेतका यामबहादुर बी.सी., गोपालसिंह रजवार, टीकाराम गौतम र जुम्लाका हरिबहादुर कुँवरले आफ्नो ज्यानको आहुति दिएका थिए । उनीहरूको यही बलिदानको कदर गर्दै प्रदेश सरकारले यस दिनलाई शहीद दिवसका रूपमा समेत स्थापित गरेको छ । सरकारले उनीहरूलाई शहीद घोषणा गरिसकेको छ ।




