काठमाडाैं । दसैंतिहारजस्ता ठूला पर्व सकिएसँगै कर्णाली प्रदेशका बस्ती खाली हुन थालेका छन्। चाडपर्व मान्न आएकाहरू रोजगारी र अध्ययनका लागि ठूला सहर र कालापहाड (भारत) जान थालेपछि गाउँ रित्तिँदै गएका हुन्। यहाँका अधिकांश युवा पैसा कमाउन कालापहाड जाने गर्छन्। यो खबर आजको नागरिक दैनिकले छापेको छ।
कालीकोट शुभकालिका गाउँपालिका–३ गोठीमुलाका २० वर्षीय अक्कल परियार दसैँ तिहार मान्न एक महिनाअघि घर आएका थिए । सोमबार उनीसहितको टोली सुर्खेत–नेपालगन्ज हुँदै भारततर्फ लाग्यो। ‘गाउँघरतिर रोजगारी पाइँदैन । किसानी गर्न पर्याप्त जमिन छैन’, १४ वर्षको उमेरदेखि भारत जान थालेका उनले भने, ‘चार–छ महिना काम गरेर फेरि नयाँ वर्षमा फर्किहाल्छौं।’ यहाँका अधिकांश युवा उत्तराञ्चल, हिमाञ्चललगायतका क्षेत्रमा रोजगारीका लागि जाने गर्छन् । दसैंतिहार मानेर गएका युवा नयाँ वर्षम घर फर्कन्छन्।
जुम्ला सिञ्जाका कर्णबहादुर हमाल कालापहाड यात्राका लागि घर छोड्ने तयारीमा छन् । उनी बर्सेनि उनी कालापहाड जान्छन् । ज्याला मजदरी गर्छन् । कालापहाडमा कमाएको पैसाले परिवारको लुगाफाटो फेर्छन्। तिहार सकाएर कालापहाड जाने गरेका उनी चैतमा धानको बिउ राख्ने समयमा घर फर्किन्छन् । ‘गाउँमा रोजगारीका अवसर छैनन्, घर बसेर परिवारको खानाखर्च र लत्ताकपडा फेर्न सकिँदैन’, उनले भने, ‘रहरले होइन, बाध्यताले कालापहाडे हुनुपरेको हो।’
जुम्लाकै तिला गाउँपालिकाका बिर्खबहादुर बुढाले गाउँका अन्य युवासहित तिहारको भोलिपल्टै कालापहाडतर्फ लागे । ‘यहाँ खाली बस्नु भन्दा हिउँदको चार महिना कालापहाडमा काम गर्यो भने नयाँ वर्षमा परिवारका सदस्यको नयाँ लुगा फेर्न पाइन्छ । दुई छाक भए पनि मिठोमसिनो खान पाइन्छ’, उनले भने।
यतिबेला जुम्लाका अधिकांश पुरुष कालापहाडको यात्रामा छन् । कर्णाली राजमार्गमा चल्ने सवारीलाई कालापहाड जाने यात्रु बोक्न ठिक्क छ । गाउँ सुनसान हुँदै गएका छन्।




