खोटाङ । छिमेकी हत्या गरी फरार अभियुक्त २९ वर्षपछि समातिएका छन् ।
बिवादमा छिमेकीको हत्या गरेर फरार भएका हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाका ६० वर्षीय चन्द्रबहादुर कार्की २९ वर्षपछि दशैं मनाउन घर आएका बेला पक्राउ परेका हुन् ।
जग्गा बिवादका क्रममा २०४६ सालमा स्थानीय ढकबहादुर कार्कीको हत्या गरेर फरार चन्द्रबहादुरलाई सुनसरीको रामधुनी नगरपालिका–७ पञ्चायनबाट पक्राउ गरिएको हो ।
पक्राउ परेका कार्कीलाई अदालत खुले लगत्तै फैसला कार्यान्वयनका लागि पेश गर्नेगरी जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । कर्तव्य ज्यान मुद्दामा २०५७ साल जेठ १७ गते जिल्ला अदालत खोटाङबाट २० वर्ष कैंद सजाय हुने फैसला सुनाइएका चन्द्रबहादुर भारतको नागाल्याण्ड, सिलोङ हुँदै मिजोरममा गाई फार्म चलाएर बस्दै आएका थिए ।
उक्त घटनामा चन्द्रबहादुरका साथै सोही ठाउँका केशव कार्की, नरबहादुर भुजेललगायत चार जनामाथि स्थानीय ढकबहादुरको हत्या गरेको अभियोगमा मुद्दा दर्ता भएको थियो ।
ढकबहादुरको हत्यामा संलग्न नरबहादुर र केशवले अदालतको फैसला अनुसार कैंद भुक्तान गरिसकेका छन् । पक्राउ परेर हिरासतमा रहेका चन्द्रबहादुर र अर्का एक जना अभियुक्त भने हालसम्म फरार थिए । फरार एक अभियुक्त अझै पक्राउ पर्न बाँकी रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
हत्या गरी फरार अभियुक्त २९ वर्षपछि समातिए
तपाईंको प्रतिकृया




