१४ बर्षीय निरज पासवानको हत्या आरोपमा शिक्षकसहित दुई जना पक्राउ

काठमाडाैं । पर्सामा आफ्नै विद्यार्थीको अपहरणपछि हत्या गरेको आरोपमा प्रहरीले शिक्षकसहित दुई जनालाई पक्राउ गरेको छ ।
वीरगञ्जमा रहेको गुरुकुल इङलिस बोर्डिङ स्कुलमा अध्ययनरत १४ वर्षका विद्यार्थी निरजकुमार पासवानको अपहरणपछि हत्या गरेको आरोपमा त्यही विद्यालयका शिक्षक दिलीपकुमार पटेल र वीरगञ्ज महानगरपालिका–१७ का श्यामप्रसाद यादवलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।

विद्यार्थीको अपरहणपछि ५० लाख रुपैयाँ फिरौती मागेको म्यासेजको आधारमा अनुसन्धान गर्दै जाँदा उनीहरूलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक (डीएसपी) गिरीले बताए । कक्षा ८ मा अध्ययन गर्ने निरज हराएको भन्दै परिवारले गएको मंसिर ८ गते जिल्ला प्रहरी कार्यालयमा खबर गरेपछि प्रहरीले अनुसन्धान थालेको थियो ।

अनुसन्धानका क्रममा मंसिर २० गते निरजका बुबा श्रीराम हजरा दुसादको मोबाइलमा फिरौती मागेको म्यासेज देखिएको र त्यही आधारमा शिक्षक पटेल र यादवलाई पक्राउ गरेको डीएसपी गिरीले बताए । दुवै जनाले अपहरणपछि हत्या गरेको स्वीकारेका प्रहरीले जनाएको छ ।

निरजको शव विद्यालयको पुरानो भवन रहेको शौचालयको सेप्टिक ट्याङ्कीमा गाडिएको अवस्थामा भेटिएको छ । निरजको अपहरण गरेकै दिन हत्या भएको र फिरौती भने १२ दिनपछि मागेको पाइएको छ । हत्यामा संलग्न एक जना फरार रहेका प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री