काठमाडौं । नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलको नेतामा यामलाल कँडेल चयन भएका छन् । बुधबारको बैठकबाट कँडेल सर्वसम्मत चयन भएका हुन् । कँडेल सुर्खेत निर्वाचन क्षेत्र नम्बर–२ प्रदेश सभा (१) बाट निर्वाचित भएका थिए । कँडेल नेकपा एमाले स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश इञ्चार्ज समेत हुन् ।
अघिल्लो पटक कर्णाली प्रदेशको मुख्यमन्त्री हुन कोशिस गरे पनि असफल भएका थिए । पुनः मुख्यमन्त्रीका लागि यस पटक कँडेल प्रदेश सभामा दोहोरिएका हुन् । केन्द्रमा अचानक भएको राजनीतिक समीकरणले कर्णालीमा तेस्रो दलका रुपमा रहेको एमालेलाई सरकारमा जाने मौका मिलेको छ ।
यता माओवादीले पनि रुकुमपश्चिमका राजकुमार शर्मालाई मंगलबार र बुधबार बसेको बैठकले दलको नेतामा सर्वसम्मत चयन गरेको । अब केन्द्रमा जस्तै कर्णालीमा एमाले-माओवादीबीच पहिला कसले सरकारको नेतृत्व गर्ने भन्ने विषयमा रस्साकस्सी सुरु भएको छ । यस्तै एमाले संसदीय दलको नेतामा एमाले कर्णाली प्रदेश अध्यक्ष तथा दैलेख निर्वाचन क्षेत्र नम्बर–२ प्रदेश सभा (२) बाट निर्वाचित सांसद विनोदकुमार शाहको पनि दाबी थियो ।




