नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सत्तारुढ गठबन्धन प्रदेशसभा र प्रतिनिधिसभा चुनावसम्म कायम रहने बताएका छन् ।
अध्यक्ष नेपालले आगामी मंशिरमा प्रदेशसभा र प्रतिनिधिसभा चुनाव हुने भन्दै त्यतिबेलासम्म सत्तारुढ गठबन्धनलाई कायमै राखेर अघि बढ्न आफ्नो पार्टीले चाहेको बताएका हुन् । पार्टीको विद्यार्थी विशेष जिल्ला कमिटीले बुधबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सत्तारुढ गठबन्धनलाई भत्काउने प्रयत्नहरु भईरहे पनि त्यसको पछि नलाग्न पार्टीको सिंगो पंक्तिलाई आह्वान गरे।
गठबन्धनभित्र कमजोरी भए आलोचना गर्ने तर गठबन्धनलाई भने निरन्तरता दिएरै जाने अध्यक्ष नेपालको दृढता थियो ।
अध्यक्ष नेपालले गठबन्धन गरेर स्थानीय तह निर्वाचनमा जाँदा आफूहरुले पोखरा महानगरपालिका र हेटौंडा उपमहानगरपालिकाको मेयरमा शान्दार ढंगले सफलता हासिल गरेको बताए । उनले पार्टीबाट फिर्ता बोलाइएका मन्त्रीहरुको अभिव्यक्तिलाई लिएर आलोचना नगर्न पनि पार्टी पंक्तिलाई सचेत गराए । पार्टीबाट फिर्ता बोलाइएका मन्त्रीहरुले सकेसम्म राम्रो काम गरेकाले उनीहरुलाई दोष लगाउनु राम्रो नहुने अध्यक्ष नेपालको भनाइ थियो ।




