बीबीसी । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की देशको द्वन्द्व ग्रस्त खार्किभ क्षेत्रको अग्रपङ्क्तिमा पुगेर त्यहाँ तैनाथ सैनिकहरूसँग भेट गरेका छन् । फेब्रुअरी २४ मा रुसी आक्रमण सुरु भएयता किएभबाहिर यो उनको पहिलो भ्रमण हो ।
बुलेट प्रुफ भेस्ट लगाएर खार्किभ सहरमा भग्नावशेषहरू अवलोकन गर्दै गरेका उनका तस्बिरहरू सार्वजनिक भएका छन् । जेलेन्स्कीले सैनिकहरूलाई भनेका छन्- ‘तपाईँहरू हरेकको सेवाका लागि म धन्यवाद दिन चाहन्छु ।’
युक्रेनको दोस्रो ठूलो सहर खार्किभ करिब १५ दिन जति शान्त रहे पनि रुसले हालैका दिनहरूमा पुनः गोलाबारी सुरु गरेको छ । युद्धको पाँच महिनासम्म युक्रेनको यो सहरले तीव्र बमबारीको सामना गरेको थियो। यो सहरका अग्ला घरहरू भग्नावशेषमा परिणत भएका तस्बिरहरू सार्वजनिक भएका थिए ।
एप्रिल र मेमा रुसी फौजहरू यो सहर आसपासका क्षेत्रबाट बिस्तारै पछि हटेका थिए । रुसी फौज पछि हटेपछि सहरबाट विस्थापित भएका कतिपय मानिस पुनः फर्किएका थिए । रुसी आक्रमणपछि बन्द रहेको यहाँको मेट्रो सेवा समेत पहिलो पटक पुनः सुरु भएको थियो ।



