स्थानीय तह सदस्य निर्वाचन २०७९ को नतिजा आउने क्रम जारी रहेको छ। अहिले देशभरका विभिन्न स्थानीय तहको मतगणना जारी छ। केही स्थानहरुमा नतिजा आइसकेको छ भने केही स्थानमा आउने क्रममा छ।
स्थानीय तह सदस्यको निर्वाचनमा काठमाडौं महानगर र भरतपुर महानगरपालिकालाई विशेष चासोका साथ हेरिएको छ । अहिले यी दुई महानगरमा मतगणना कार्य जारी छ । निर्वाचन आयोगले जेठको ५ गतेसम्म मतगणना कार्य सम्पन्न गर्ने लक्ष्य राखेको छ।
मत गणनाको प्रारम्भिक नतिजा अनुसार काठमाडौं महानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह अग्र स्थानमा छन् । त्यस्तै नेकपा एमालेका मेयरका उम्मेदवार केशव स्थापित दोस्रो स्थानमा रहँदा तेस्रो स्थानमा गठबन्धनबाट नेपाली कांग्रेसकी उम्मदेवार सिर्जना सिंह रहेकी छन्।
त्यस्तै भरतपुर महानगरपालिकामा नेकपा एमालेबाट मेयरका उम्मेदवार विजय सुवेदी र गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालको प्रतिष्पर्धा चलिरहेको छ।
हालसम्म देशभरका ७५३ पालिका मध्ये ११७ तहको अन्तिम नतिजा सार्वजनिक भएको छ । जसमध्ये नेपाली कांग्रेस अग्रस्थानमा छ। उसले ४५ तहमा जित हात पार्दा २४५ तहमा अग्रस्थानमा रहेको छ । यस्तै नेकपा एमालेले ४२ तहमा जित हात पारेको छ । १६३ तहमा अग्रस्थानमा छ ।
माओवादी केन्द्रले २६ तहमा जित हात पारेको छ भने ८८ तहमा अगाडि छ । एकीकृत समाजवादीले २ तहमा जित र १५ तहमा अग्रस्थानमा छ । यस्तै स्वतन्त्र उम्मेदवारले २ स्थानमा जित हात पारेका छन् । २४ स्थानमा स्वतन्त्र, जसपा र राप्रपाका उम्मेदवार अगाडि रहेका छन् ।
प्रतिकृया दिनुहॊस