काठमाडौं । काठमाडौंका ११ वटा स्थानीय तहमा नेकपा एमालेले अग्रता लिएको छ । २०७४ को चुनावमा एमालेले जितेको काठमाडौं महानगरपालिकामा अहिले स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले लिड गरिरहेका छन् । २ हजार ६ सय १ मत सहित अग्रता लिइरहेका बालेन्द्रलाई एमालेका केशव स्थापितले १ हजार ४ स य १५ मतसहित पछ्याइरहेका छन् । २०७४ मा एमालेका विद्यासुन्दर शाक्यले ६४ हजार ९ सय १३ मत प्राप्त गरेर जितेका थिए । बाँकी १० मध्ये एमालेले कागेश्वरी-मनोहरा, गोकर्णेश्वर, चन्द्रागिरि, टोखा, तारकेश्वर, बुढानीलकण्ठ र शंखरापुर नगरपालिकामा एमालेको अग्रता देखिन्छ ।
शंखरापुरमा एमालेका कृष्णलाल बजगाईंले १ हजार ३०२ मत ल्याएका छन् । माओवादी केन्द्रका लक्ष्मीप्रसाद श्रेष्ठले १ हजार १८० मतसहित पछ्याइरहेका छन् । बुढानीलकण्ठमा एमालेका मिठाराम अधिकारीले अग्रता लिइरहेका छन् । अधिकारीले २ हजार ०५८ मत ल्याएर अग्रता लिइरहँदा कांग्रेसका विनोद चालिसेले १ हजार ७ सय ४० मत ल्याएका छन् ।
तारकेश्वर नगरपालिकामा एमालेका रामेश्वर बोहराले अग्रता लिइरहेका छन् । उनले २ हजार ०८७ मत ल्याएका छन् भने कांग्रेसका हरिकृष्ण महर्जनले १ हजार ७ सय ०७ मत ल्याएका छन् । २०७४ को चुनावमा पनि एमालेबाट बोहराले मेयर जितेका थिए । उनले ९ हजार ३२६ मत ल्याएर मेयर जित्दा कांग्रेसका श्रीराम थापाले ७ हजार ७ सय ५७ मत ल्याएका थिए ।
गोकर्णेश्वर नगरपालिकामा एमालेका उद्धव बिष्टले १ हजार ८०२ मत सहित अग्रता लिइरहेका छन् । उनलाई कांग्रेसका दीपककुमार रिसालले १ हजार ५२७ मत सहित पछ्याइरहेका छन् । चन्द्रागिरि नगरपालिकामा एमालेकै उत्तमबहादुर राउतले अग्रता बनाइरहेका छन् । उनले १ हजार ०२३ मत ल्याउँदा कांग्रेसका घनश्याम गिरीले ८ सय ५२ मत ल्याएका छन् । गिरी निवर्तमान मेयर हुन् ।
टोखा नगरपालिकामा एमालेका प्रकाश अधिकारीले १ हजार ४०२ मत ल्याएर अग्रता बनाएका छन् । उनलाई कांग्रेसका रजनी थापाले १ हजार १२१ मत ल्याएर पछ्याइरहेका छन् । कागेश्वरी मनोहरामा एमालेका रामशरण ढुंगानाले १ हजार ६४८ मत सहित अग्रता बनाइरहेका छन् । उनलाई कांग्रेसका उपेन्द्र कार्कीले १ हजार ५४५ मत सहित पछ्याइरहेका छन् ।
कीर्तिपुर, नागार्जुन र दक्षिणकालीमा कांग्रेसको अग्रता छ । दक्षिणकालीमा कांग्रेसबाट निवर्तमान मेयर मोहन बस्नेत नै चुनावी मैदानमा छन् । उनले २ हजार ९४९ मत सहित अग्रता बनाइरहँदा एमालेका श्रीराम आचार्यले २ हजार २२७ मत सहित पछ्याइरहेका छन् । नागार्जुनमा पनि कांग्रेसबाट निवर्तमान मेयर मोहनबहादुर बस्नेतले २ सय ८७ मत ल्याएर अग्रता बनाएका छन् । उनलाई एमालेका नन्दनहरि गौतमले १८९ मतसहित पछ्याइरहेका छन् ।
२०७४ को चुनाव एमालेले जितेको कीर्तिपुरमा कांग्रेसले अग्रता बनाइरहेको छ । कांग्रेसका राजकुमार नकर्मीले २ हजार ६२० मतसहित अग्रता बनाउँदा एमालेबाट केशरत्न बज्राचार्यले १,६०५ मतसहित पछ्याइरहेका छन् ।




