काठमाडाैँ । सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आउँदो वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा गठबन्धनको धेरै आश नगर्न आफ्ना नेता-कार्यकर्तालाई सुझाव दिएका छन् । चुनाव केन्द्रित अभियानमा रहेका प्रचण्डले आइतबार बिहान पोखरामा आयोजित पत्रकार सम्मेलनमा आफ्नै बलमा चुनाव जित्ने गरी तयारी गर्न पार्टी नेता-कार्यकर्तालाई निर्देशन दिए ।
पार्टीमा जोड गरेर भनेको कुरा के हो भने गठबन्धन होला, त्यहीबाट जितौंला भनेर बसेर हुँदैन, आफ्नै शक्ति र बलमा जित्ने हो’, उनले भने, ‘आफ्नै बलमा चुनाव लड्ने कुरालाई ध्यानमा राख्दै तालमेल गर्ने कुरालाई पनि उपयोग गर्नुपर्छ ।’
जनतामा राष्ट्र र लोकतन्त्र जोगाउने पार्टी माओवादी नै रहेछ भन्ने महसुस भएको भन्दै उनले आफूहरू नै पहिलो पार्टी बन्ने सम्भावना रहेको दाबी गरे । ‘०६४ मा ठूला भनेका दलले माओवादीको पाँच सिट आउँछ होला भनेका थिए तर जनताले हामीलाई प्रत्यक्षतर्फ झन्डै बहुमत दिए,’ उनले पत्रकारहरूसँगको कुराकानीमा भने, ‘०७४ को परिणाम हाम्रा अगाडि छ । अब ०७९ मा चुनावमा जाँदा देशैभरिको सबै स्थिति हेर्दा हामी पहिलो पार्टी बन्ने सम्भावनातिर अघि बढेका छौँ ।’




